बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता


काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ ।

उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा एक करोड ७० लाखमा उक्त पुल तयार भएको हो ।

विशेषगरी वर्षात्मा रतन खोला हुँदै आवातजावत गर्न समस्या हुने गरेकामा पुल बनेसँगै सुकुमफेदी, च्याम्राङबेँसी, झिङ्गे र खानीखोला तथा महाङ्कालका नागरिकसमेत लाभान्वित भएका बेथानचोक-१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार विसं २०८१ को असोजमा आएको बाढीपहिरोका कारण झिङ्गेसहित बस्तीमा जान थप समस्या भएपछि पुल निर्माणमा पहल गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले उक्त पुल निर्माणले काभ्रेपलाञ्चोक र ललितपुरका नागरिकलाई ठूलो राहत पुगेको बताए । “गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको छ”, उनले भने ।

वडा नं १ झिङ्गेका गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधारसँगै कृषि उत्पादनको बजारीकरण तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुगेको बताए । उनले ठूला पुल निर्माण गर्न नसके बेलीब्रिज निर्माण गरी नागरिकलाई सुविधा दिन स्थानीय सरकारलाई सुझावसमेत दिए ।