सरकारले सुझाव कार्यान्वयन नगर्दा कोरोना संक्रमण बढेको कांग्रेसको आरोप


काठमाडौं । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना नियन्त्रण र रोकथाम लागि पटक पटक सरकारलाई सुझाव दिएपनि कार्यान्वयन नगरेकै कारण संक्रमितको संख्या नघटेको आरोप लगाएको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्दै समितिका संयोजक डा प्रकाशशरण महतले कोरोनाको सुरुवात देखिनै समितिले सरकारलाई आवश्यक सुझाव दिएपनि सरकारले अटेर गरेको आरोप लगाए । महतले बिपक्षीको कुरालाई सरकारले सम्बोधन र महशुस गर्न नसकेको गुनासो गरे । उनले कोरोना नियन्त्रणका लागि सरकारी प्रयास फितलो भएको उल्लेख गरे ।

अब बस्ने संसदमा यस बिषयमा कांग्रेसले कडा आवाज उठाउनुपर्ने आमकार्यकर्ताबाट आवाज उठेको उनको भनाई छ ।
उनले सहज रुपमा कांग्रेसले उठाएका बिषयलाई सरकारले नसुनेको भन्दै अब सरकारको ध्यानाकर्षण गराउने बाटो खोज्ने चेतावनी दिए । छलफलका क्रममा समितिले कोरोना नियन्त्रण र रोकथामका लागि पार्टीका तर्फबाट उठाउनुपर्ने र चाल्नुपर्ने कदमका बारेमा सुझाव लिएको थियो ।