रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका सात रिहा


ललितपुर । गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना सोमबार रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती सोमबार रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले जानकारी दिए । यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।