लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङको नियुक्ति खारेजी माग्दै सर्वोच्चमा रिट


काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नियुक्ति गैरकानुनी भएको दाबी गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो ।

अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ ।

रिटको पेसी बुधबारका लागि तोकिएको छ । नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।