काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले विवादित अनौपचारिक संवादको भिडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिएका छन् । उनले पुराना राजनीतिक दलप्रति जनताको असन्तुष्टि र परिवर्तनको अपेक्षाका कारण रास्वपाले ठूलो जनमत पाएको भन्दै त्यसलाई कामबाट प्रमाणित गर्नुपर्ने बताएका छन् ।
चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच नेपाली कांग्रेसको नेतृत्व विवाद तथा एमालेका नेताहरूको राजनीतिक गतिविधिबारे भएको अनौपचारिक संवादको भिडियो सार्वजनिक भएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएको उल्लेख गरेका छन् ।
‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ,’ उनले भनेका छन् ।
जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन नसके आगामी निर्वाचनमा रास्वपाले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्ने न्यौपानेले बताएका छन् ।
उनका अनुसार अनौपचारिक छलफलको मूल निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी नहुने तथा त्यसलाई काम, इमान्दारी र नतिजाबाट प्रमाणित गर्नुपर्ने विषयमा केन्द्रित थियो ।
‘जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमान्दारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यही नै हो,’ उनले स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
भिडियोमा एक पुरुष सांसदले कांग्रेस नेतृत्वको प्रसंग उठाउँदै शेरबहादुर देउवा पक्षलाई लक्षित टिप्पणी गरेको सुनिन्छ। एक सांसदले भनेका छन्, ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ ।’
त्यसपछि महिला सांसदले अदालतको फैसला, कांग्रेसको नेतृत्व र केपी शर्मा ओली तथा महेश बस्नेतको राजनीतिक गतिविधिबारे टिप्पणी गरेको सुनिन्छ। उनले भनेकी छन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म। र, ओलीलाई पनि रोक्नुहुन्न।’
संवादका क्रममा केही सांसदले केपी ओली र महेश बस्नेत थप आक्रामक रूपमा प्रस्तुत हुने अनुमान गर्दै उनीहरू राजनीतिक रूपमा बाहिरिने टिप्पणी गरेका छन्। एक सांसदले त्यस्तो परिस्थितिको राजनीतिक लाभ रास्वपाले लिन सक्ने बताएका छन्। उनीहरुल संवादका क्रममा भनेका छन्, ‘किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत।’

प्रतिक्रिया