नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द


चितवन । नागढुंगा–मुग्लिन सडक खण्डको घोप्टेभीरमा पहिरो हटाउने कार्यका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने जनाएको हो ।

घोप्टेभीर क्षेत्रमा लगातार सुख्खा पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षति समेत भएको प्रशासनले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरण तथा सडकलाई सुरक्षित बनाउने उद्देश्यले जोखिमयुक्त ढुङ्गा र माटो हटाउने कार्य सुरु गर्न लागिएको हो ।

उक्त समयमा नागढुंगा–मुग्लिन सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने प्रशासनले जनाएको छ । सडक बन्द रहने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न यात्रु तथा चालकलाई आग्रह गरिएको छ ।