-शैलेन्द्रकुमार श्रेष्ठ
१. साझा सभ्यता, संस्कृति र आध्यात्मिक आत्मीयताको ऐतिहासिक सम्बन्ध:
नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको कूटनीतिक सम्बन्ध मात्र होइन; यो हजारौँ वर्षदेखि विकसित साझा सभ्यता, संस्कृति, आध्यात्मिक चेतना, धार्मिक आस्था र जनस्तरको आत्मीयताले जोडिएको विशिष्ट सम्बन्ध हो। राजनीतिक रूपमा दुई स्वतन्त्र र सार्वभौम राष्ट्र भए पनि दुवै देशका नागरिकबीचको पारिवारिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक निकटता यस सम्बन्धको अनुपम विशेषता हो।
सनातन तथा आध्यात्मिक दृष्टिले नेपाललाई हिमवत्खण्डको पवित्र भूभाग, ऋषि–तपस्या र ज्ञानसाधनाको पुण्यभूमिका रूपमा लिन सकिन्छ भने भारत प्राचीन भारतवर्षको धर्म, दर्शन, वैदिक ज्ञान र आध्यात्मिक साधनाको विशाल केन्द्रका रूपमा परिचित छ। जनकपुरको सीता–राम परम्परादेखि अयोध्या, पशुपतिनाथदेखि काशी विश्वनाथसम्म तथा हिमालयको तपोभूमिदेखि गङ्गाको पवित्र तटसम्म फैलिएको धार्मिक र सांस्कृतिक सम्बन्धले यी दुई राष्ट्रलाई गहिरो सभ्यतागत आत्मीयतामा जोडेको छ। लुम्बिनीबाट प्रवाहित भगवान् गौतम बुद्धको शान्ति, करुणा र प्रज्ञाको सन्देशले यस क्षेत्रको आध्यात्मिक गरिमालाई विश्वव्यापी पहिचान दिएको छ।
यी सम्बन्ध इतिहासका स्मृति मात्र होइनन्; आज पनि दुवै देशका जनताको जीवन, विश्वास र भावनामा जीवन्त छन्। यही अमूल्य सभ्यतागत सम्पदा र जनस्तरको आत्मीयता नेपाल–भारत सम्बन्धको सबैभन्दा ठूलो पूँजी हो भन्ने आम नेपालीको बुझाइ रहेको छ। यस ऐतिहासिक सम्बन्धलाई आर्थिक सहकार्य, विकास र साझा समृद्धिसँग जोड्न सक्नु वर्तमान समयको महत्वपूर्ण उपलब्धि हुनेछ।
२. प्रधानमन्त्रीज्यूको आगामी भारत भ्रमणप्रति नेपाली जनताको उत्साह र अपेक्षा:
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी नोभेम्बर २२ देखि २३, २०२६ सम्म भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीका रूपमा उहाँको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण भएकाले यसलाई नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास, समझदारी र आर्थिक सहकार्यको अवसरका रूपमा हेरिएको छ। यस भ्रमणप्रति नेपाली जनतामा देखिएको उत्साह, हर्ष र सकारात्मक अपेक्षा दुई देशबीचको ऐतिहासिक तथा आत्मीय सम्बन्धप्रतिको विश्वासको अभिव्यक्ति पनि हो।
यस भ्रमणमा आर्थिक सहयोग, पूर्वाधार विकास, हवाई तथा रेल सम्पर्क, सडक र पुल, ऊर्जा व्यापार, रोकिएका आयोजना तथा भोटेकोसी बाढीपछिको पुनर्निर्माणजस्ता विषयले महत्वपूर्ण स्थान पाउने अपेक्षा छ। नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि थप हवाई प्रवेशमार्गको व्यवस्था तथा यससम्बन्धी सहकार्यमा दुवै देशका राष्ट्रिय हित र पारस्परिक संवेदनशीलताको सम्मान गर्दै नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय प्राथमिकतासमेत समेटिने आपसी समझदारी विकास हुनु सुखद हुनेछ। विद्युत् प्रसारण लाइन विस्तार, बंगलादेशसम्म विद्युत् निर्यातमा सहजीकरण तथा द्विपक्षीय व्यापार र पारवहनलाई थप सहज बनाउने विषय पनि दुवै देशका साझा आर्थिक हितसँग जोडिएका छन्।
जनकपुर–जयनगर रेलमार्गको थपविस्तार,जनकपुर–अयोध्या
बीच धार्मिक तथा सांस्कृतिक सम्पर्क, सीमा क्षेत्रमा पूर्वाधार विकास र विगतदेखि छलफलमा रहेका विकास आयोजनामा सकारात्मक प्रगति हुने आशा आम नेपालीले गरेका छन्। ईपीजीको प्रतिवेदन औपचारिक रूपमा ग्रहण हुन बाँकी रहेको अवस्थामा त्यसका सुझावमाथि पनि आपसी विश्वास र समझदारीका साथ संवाद अघि बढ्ने अपेक्षा गर्न सकिन्छ।
भारतीय सेनामा नेपाली युवाको परम्परागत भर्ती तथा अग्निपथ योजनाअन्तर्गत अग्निवीरका रूपमा हुने भर्ती, सेवा अवधि र सेवापछिको सामाजिक सुरक्षासम्बन्धी विषयमा पनि दुवै देशबीचको ऐतिहासिक सम्बन्ध र नेपाली युवाको योगदानलाई आत्मसात् गर्दै सकारात्मक समझदारी विकसित हुने विश्वास छ। नेपाली युवाको योगदानको सम्मान, उनीहरूको सेवापछिको भविष्य र पुनःस्थापनासम्बन्धी विषयमा सहकार्यले दुवै देशको राष्ट्रिय हित र पारस्परिक सद्भावलाई थप बलियो बनाउनेछ। विशेषगरी, वि.सं. २०८३ भदौ १० गते गएको विनाशकारी भोटेकोसी बाढीपछिको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनामा भारतको सद्भावपूर्ण सहयोग र सहकार्य महत्वपूर्ण हुन सक्छ। यसले प्रभावित समुदायको जीवनलाई पुनः सामान्य बनाउन सकारात्मक योगदान पुर्याउने विश्वास छ। हवाई, रेल, सडक र ऊर्जा सम्पर्कका विषयमा व्यावहारिक समझदारी बन्न सकेमा नेपालको व्यापार, पर्यटन, लगानी र समग्र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्नेछन्।
आज आम नेपालीमा एउटा नयाँ आशा र विश्वास पलाएको छ कि प्रधानमन्त्रीज्यूको यस भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक विश्वास, मित्रता र आत्मीयतालाई अझ प्रगाढ बनाउँदै दुवै देशका साझा हितका विषयमा सार्थक उपलब्धि हासिल गर्ने नयाँ आधार तयार गर्नेछ।
३. साझा सभ्यताबाट साझा आर्थिक समृद्धितर्फ:
नेपाल र भारतबीचको सम्बन्धको ठूलो शक्ति जनस्तरको आत्मीयता र ऐतिहासिक विश्वास हो। यही आत्मीयतालाई आर्थिक सहकार्य र साझा विकासका माध्यमबाट अझ सार्थक बनाउने सम्भावना प्रशस्त छ। अयोध्या–जनकपुर, पशुपतिनाथ–काशी विश्वनाथ तथा मुक्तिनाथ–बद्रीनाथजस्ता आध्यात्मिक सम्बन्धलाई धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत विस्तार गर्न सकिन्छ। दामोदर कुण्ड, गोसाइँकुण्ड, पाथीभरा, बराहक्षेत्र, देवघाट, स्वर्गद्वारी, फेवाताल, राराताल, बागेश्वरी, शैलेश्वरी र बडीमालिकाजस्ता प्रसिद्ध गन्तव्यलाई एकीकृत पर्यटन सञ्जालमा जोड्न सकेमा तीर्थयात्रा, सांस्कृतिक पर्यटन, स्थानीय रोजगारी र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय अवसर सिर्जना हुनेछ। त्यसैगरी, हिमालयबाट उद्गम भएका नदीहरूको जलसम्पदा दुवै देशको समृद्धिको महत्वपूर्ण आधार हो। ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, उद्योग र व्यापारमा सहकार्य विस्तार हुनु ऐतिहासिक सम्बन्धलाई आधुनिक विकाससँग जोड्ने सुखद अवसर हो। नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना छ भने भारतमा ऊर्जाको विशाल र बढ्दो माग छ। भारतको बजार, लगानी, प्रविधि र प्रसारण पूर्वाधारसँगको सहकार्यले नेपालको जलविद्युत् क्षेत्रलाई नयाँ गति दिन सक्छ। भारतको सहजीकरणमा बंगलादेशसम्म विद्युत् निर्यात विस्तार हुन सकेमा नेपालले क्षेत्रीय ऊर्जा बजारमा आफ्नो महत्वपूर्ण स्थान स्थापित गर्न सक्छ। यसबाट नेपाल, भारत र बंगलादेश तीनवटै देशले ऊर्जा सुरक्षा र आर्थिक समृद्धिको लाभ लिन सक्नेछन्।
४. नेपाल–भारत–बंगलादेश क्षेत्रीय ऊर्जा सहकार्यको सम्भावना:
नेपाल र भारतबीच विकसित हुँदै गएको ऊर्जा सहकार्यलाई बंगलादेशसम्म विस्तार हुनु क्षेत्रीय आर्थिक साझेदारीको सुखद सुरुआत हो। नेपाल सरकार तथा सम्बन्धित निकायबाट सार्वजनिक विवरणअनुसार, सन् २०२४ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय विद्युत् व्यापार सम्झौताअनुसार भारतको प्रसारण प्रणाली प्रयोग गरी प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्था गरिएको छ।
यस सहकार्यमा भारतको प्रसारण पूर्वाधार तथा पारवहन सुविधाको भूमिका महत्वपूर्ण छ। भारतको सहयोग र सहजीकरणबाट नेपालको जलविद्युत् उत्पादन बंगलादेशको बढ्दो विद्युत् मागसँग जोडिनु तीनवटै देशका लागि लाभदायी अवसर हो। आगामी दिनमा प्रसारण क्षमता विस्तार, दीर्घकालीन विद्युत् खरिद सम्झौता, लगानी सहकार्य र नीतिगत समन्वय अझ प्रभावकारी हुँदै गएमा यसले क्षेत्रीय ऊर्जा सुरक्षा, आर्थिक अन्तरनिर्भरता र साझा समृद्धिको यात्रालाई नयाँ उचाइ दिन सक्नेछ। यस्तो सहकार्य दक्षिण एसियामा पारस्परिक विश्वास र आर्थिक साझेदारीको सुन्दर उदाहरण बन्न सक्छ।
५. सीमापार जलस्रोतको बहुआयामिक आर्थिक मूल्याङ्कन र न्यायोचित लाभ बाँडफाँट:
नेपालका महाकाली, कोशी र गण्डकीजस्ता सीमापार नदीहरूको पानी भारतले हाल शारदा, कोशी र गण्डक आयोजनामार्फत सिँचाइ, जल उपयोग तथा बाढी व्यवस्थापनका लागि प्रयोग गर्दै आएको छ। यी नदीबाट प्राप्त हुने लाभ जलविद्युत् उत्पादनबाट प्राप्त हुने लाभभन्दा फरक प्रकृतिका छन्। त्यसैले हाल प्राप्त भइरहेका लाभ र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तथा प्रस्तावित सप्तकोशी उच्च बाँधजस्ता भविष्यका आयोजनाबाट प्राप्त हुन सक्ने थप जलविद्युत्, सिँचाइ र बाढी व्यवस्थापनसम्बन्धी लाभको छुट्टाछुट्टै वैज्ञानिक तथा आर्थिक मूल्याङ्कन हुनु महत्वपूर्ण छ। यसैगरी, नेपालको पश्चिम सेतीजस्ता जलाशययुक्त जलविद्युत् आयोजनाको विकासबाट वर्षायामको पानी सञ्चय गरी सुक्खायाममा विद्युत् उत्पादन र जलप्रवाह व्यवस्थापनमा थप सम्भावना सिर्जना हुन सक्छ। भविष्यमा यस्ता आयोजनाबाट प्राप्त हुन सक्ने ऊर्जा तथा जलप्रवाहसम्बन्धी लाभलाई समेत आपसी समझदारी र सहकार्यका माध्यमबाट दुवै देशको हितमा उपयोग गर्न सकिने सम्भावना रहेको छ।यी विद्यमान तथा भविष्यमा विकास हुन सक्ने जलस्रोत आयोजनाबाट प्राप्त हुने समग्र लाभलाई दृष्टिगत गर्दै
सम्बन्धित सन्धि तथा सम्झौताका सिद्धान्त र समग्र लाभका आधारमा लागत तथा लाभको न्यायोचित बाँडफाँट सुनिश्चित हुनु दुवै देशको दीर्घकालीन हितसँग जोडिएको विषय हो। नेपालको जलस्रोतबाट मित्रराष्ट्र भारतले हाल प्राप्त गर्दै आएको तथा भविष्यमा प्राप्त गर्न सक्ने व्यापक आर्थिक लाभलाई दृष्टिगत गर्दा नेपालको जायज राष्ट्रिय हित र न्यायोचित लाभसमेत सुनिश्चित हुने पारस्परिक समझदारी विकसित हुनु दुवै देशका लागि सुखद हुनेछ। आपसी विश्वास, उदार सोच र न्यायोचित साझेदारीका साथ अघि बढ्न सकेमा नेपालको जलसम्पदा र भारतको आर्थिक तथा प्राविधिक सामर्थ्यको समन्वयले दुई देशको समृद्धि मात्र होइन, सम्पूर्ण दक्षिण एसियाको विकास र सहकार्यका लागि समेत विश्वसामु एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गर्न सक्छ।
६. पञ्चेश्वर आयोजना: पारस्परिक विश्वास, साझा समृद्धि र क्षेत्रीय विकासको प्रेरणादायी आधार:
पञ्चेश्वर आयोजना महाकाली सन्धिको भावना र मर्मअनुसार आपसी विश्वास, समान सम्मान र न्यायोचित लाभका आधारमा अघि बढ्न सकेमा नेपाल–भारत जलस्रोत सहकार्यको ऐतिहासिक कोशेढुङ्गा बन्न सक्छ। यसले नेपालको राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय हित र जलस्रोतसम्बन्धी अधिकारको सम्मान गर्दै दुवै देशको साझा विकास र समृद्धिको नयाँ मार्ग खोल्न सक्ने देखिन्छ। जलविद्युत् उत्पादन, सिँचाइ, बाढी व्यवस्थापन र पूर्वाधार विकासबाट प्राप्त हुन सक्ने लाभको वैज्ञानिक तथा आर्थिक मूल्याङ्कनबाट लगानी, वित्तीय सहकार्य, ऊर्जा व्यापार र रोजगारीका नयाँ अवसर विस्तार हुनेछन्। विगतका सन्धि तथा सहमतिहरूको भावना आत्मसात् गर्दै प्राविधिक, आर्थिक र वित्तीय विषयमा आपसी संवाद र समझदारी अघि बढ्नु यस आयोजनाको सफलताका लागि महत्वपूर्ण हुनेछ।नेपालका लागि भारत भौगोलिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, सभ्यतागत र आर्थिक सम्बन्धले जोडिएको महत्वपूर्ण छिमेकी हो भने नेपालको जलस्रोत, भौगोलिक अवस्था र क्षेत्रीय सम्पर्क भारतका लागि पनि आर्थिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण छन्। यी पारस्परिक सम्भावनालाई विश्वास र सम्मानका साथ जोड्न सकेमा पञ्चेश्वर आयोजना एउटा बहुउद्देश्यीय आयोजना मात्र नभई दुई देशबीचको सदियौँ पुरानो आत्मीय सम्बन्धलाई नयाँ ऊर्जा दिँदै नेपाल–भारत मित्रताको नयाँ युग र साझा समृद्धिको नयाँ इतिहास रच्ने महत्वपूर्ण अवसर बन्न सक्नेछ। यसको सफल कार्यान्वयनले अन्य साझा जलस्रोत तथा पूर्वाधार आयोजनाका लागि सकारात्मक दृष्टान्त प्रस्तुत गर्दै दक्षिण एसियामा क्षेत्रीय ऊर्जा सहकार्य र साझा समृद्धिको सम्भावना बढाउनेछ।
७. सकारात्मक अपेक्षा र आगामी सहकार्यको मार्ग
प्रधानमन्त्री बालेन्द्र शाहज्यूको भारत भ्रमणका आफ्नै महत्वपूर्ण प्राथमिकता र द्विपक्षीय एजेन्डा छन्। ती विषयमा सकारात्मक उपलब्धि हासिल भई यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास आम नेपालीले लिएका छन्। यस अवसरमा ऊर्जा सहकार्य र जलस्रोतको सदुपयोगका सन्दर्भमा पञ्चेश्वर आयोजनाले पनि उपयुक्त स्थान पाउन सकेमा भविष्यमा यसले नयाँ गति प्राप्त गर्ने आशा छ।
वित्तीय सहकार्य, पानीको आर्थिक मूल्याङ्कन, सिँचाइ तथा बाढी व्यवस्थापनबाट प्राप्त हुने लाभ र क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनाबारे थप अध्ययन तथा समझदारी विकसित हुनु दुवै देशको साझा हितमा हुनेछ। राष्ट्रिय हित, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र पारस्परिक संवेदनशीलताको सम्मान गर्दै ऐतिहासिक र सांस्कृतिक आत्मीयतालाई आर्थिक साझेदारी र साझा समृद्धिमा रूपान्तरण गर्न सकिने विश्वास आम नेपालीले गरेका छन्। नयाँ परिवर्तन, सुशासन र समृद्धिको आशाले प्रेरित यस सरकारले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सम्मान र साझा हितका आधारमा नयाँ उचाइमा पुर्याउँदै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि दीर्घकालीन तथा बलियो आधार निर्माण गरोस् भन्ने आम नेपालीको हार्दिक अपेक्षा रहेको छ। यस ऐतिहासिक अवसरलाई दूरदर्शी नेतृत्व र सार्थक पहलमार्फत उपलब्धिमा रूपान्तरण गर्न सकेमा नेपाल–भारत सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण र अविस्मरणीय कोशेढुङ्गा स्थापित हुन सक्नेछ। यसै भावना र विश्वासका साथ, नेपालका सबै छिमेकी राष्ट्रहरूसँग पनि सन्तुलित, मैत्रीपूर्ण र पारस्परिक हितमा आधारित सम्बन्ध अझ सुदृढ हुँदै जाओस् तथा यस भ्रमणले नेपाल र भारतका जनतामा नयाँ आशा र आगामी पुस्ताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने प्रेरणा जगाओस् भन्ने साझा आकाङ्क्षा रहेको छ।
८. साझा सभ्यता, साझा समृद्धि र विश्वलाई प्रेरणा:
नेपाल प्राकृतिक साधनस्रोत, जलसम्पदा र विकासका अपार सम्भावना बोकेको राष्ट्र हो भने मित्रराष्ट्र भारत आर्थिक स्रोतसाधन, पूँजी, प्रविधि, विज्ञता र क्षमताले सम्पन्न राष्ट्र हो। दुवै देशले आफ्नो ऐतिहासिक, आध्यात्मिक, सांस्कृतिक तथा सनातनी सभ्यतागत आत्मीयतालाई हृदयमा राख्दै पारस्परिक सम्मान र विश्वासका साथ अघि बढ्न सकेमा दुवै देशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
राजनीतिक रूपमा दुई स्वतन्त्र र सार्वभौम राष्ट्र भए पनि सांस्कृतिक सभ्यताको दृष्टिले एउटै आध्यात्मिक आत्मीयताका दुई विशिष्ट अभिव्यक्तिका रूपमा रहेका नेपाल र भारतले आफ्ना सम्भावना, स्रोतसाधन र क्षमतालाई न्यायोचित साझेदारीमा जोड्न सकेमा आर्थिक समृद्धिको नयाँ आधार निर्माण हुनेछ। यस्तो सहकार्यले दुवै देशका जनताको मुहारमा खुसी ल्याउनुका साथै शान्ति, सहअस्तित्व, करुणा र साझा समृद्धिको सन्देश विश्वसमक्ष प्रस्तुत गर्दै नेपाल र भारतलाई विश्वकै लागि प्रेरणादायी नमुना बनाउन सक्नेछ।
साझा सभ्यता हाम्रो गौरव, आध्यात्मिक र सांस्कृतिक आत्मीयता हाम्रो सम्बन्धको आधार, आपसी विश्वास हाम्रो शक्ति र साझा समृद्धि हाम्रो भविष्य हो।
(सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ ऊर्जा कमिटीका पूर्व सल्लाहकार तथा हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष हुन् भने करिब डेढ दशकदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्।लेखमा प्रस्तुत विचार तथा नीतिगत अवधारणाहरू लेखकको अध्ययन र विश्लेषणमा आधारित छन्।)

प्रतिक्रिया