‘लुसिफर’ भन्दै प्रधानमन्त्रीले किन राखे सामाजिक संजालमा यस्तो तस्बिर ?


काठमाडौँ । प्रधानमन्त्री  बालेन साहलाई विरोधीहरुले आलोचना गर्ने एउटा शब्द छ ‘लुसिफर’ । ‘लुसिफर’ भनेर आफ्नो आलोचना हुने गरेको भएपनि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया जनाएका थिएनन् । अझ भदौको जेनजी आन्दोलनमा जेनजी युवालाई अगाडि सार्दै आफू पर्दा पछाडि बसेर ध्वंश्स मच्चाएको भन्दै उनलाई ‘लुसिफर’ भन्दै विरोधीले आलोचना गर्दै आएका छन् । ‘लुसिफर’ शब्दले शैतान वा विद्रोही चरित्रलाई जनाउने गर्छ ।

तर सोमबार दिउँसो प्रधानमन्त्री साहले आफ्नो फेसबुकमा त्यही ‘लुसिफर’ भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्  । उनले सार्वजनिक गरेको तस्बिरमा कालो पहिरन, कालो चस्मा र लामो दाह्री देखिएको छ । तस्बिरमा उनले एक हातले आफ्नो कपाल समातेका छन् । प्रधानमन्त्री साहको यो तस्बिर अन्य बेलाको भन्दा फरक शैलीमा देखिएको छ ।

साथै अमेरिकी र्‍यापर जे-जी (JAŸ-Z) को नामसमेत उल्लेख गरेका छन् । जे–जीको ‘लुसिफर’’ शीर्षकको गीत पनि छ । प्रधानमन्त्री साहले यसलाई कुन सन्दर्भमा प्रयोग गरेका हुन् भन्ने विषयमा भने उनले थप केही खुलाएका छैनन् ।