पार्टीको आधिकारिकता पैसाको बलमा लिइएको देउवाको आरोप, सर्वोच्चबाट आफ्नो पक्षमा फैसला आउने दाबी


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आफूहरूले नै जित हासिल गर्ने दाबी गर्दै गगन थापा नेतृत्वको समूहविरुद्ध आर्थिक चलखेलको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा  कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामा आर्थिक प्रभाव परेको दाबी गरे । उनले पार्टीको आधिकारिकता पैसाको बलमा लिइएको आरोप लगाउँदै सर्वोच्च अदालतबाट आफूहरूको पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘इनम सापकोटाले १८ करोड भनेको छ । सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले आफू सभापति पदमा रहँदै र सहमतिबिना विशेष महाधिवेशन गरिएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताए । आफूले नियमित महाधिवेशन गर्न सुझाव दिए पनि विदेशमा रहेका बेला विशेष महाधिवेशन सम्पन्न गरिएको उनको भनाइ थियो ।

उनले भने, ‘मैले गगनजीलाई तपाईंको उमेर छ, नियमित महाधिवेशन गरौँ, नेताहरूसँग सल्लाह गर्नुस् भनेको थिएँ । तर, म विदेश भएको बेला उहाँले महाधिवेशन गरिसक्नुभयो ।’

गगन थापाले निर्वाचन आयोगलाई पैसा दिएर पार्टीको आधिकारिकता लिएको आरोप लगाउँदै देउवाले पार्टीलाई पैसाको आधारमा किनबेच गर्न नसकिने टिप्पणी गरे । ‘पैसा दिएर पार्टी किन्दियो । अब पैसामा पार्टी बेच्ने हाम्ले ?’ देउवाले भने ।

देउवाले अब आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए । कांग्रेसलाई जोगाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिँदै उनले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे ।
‘मलाई विश्वास छ, निस्सा मात्र होइन, पूरै रुख चिह्न नै हामीले पाउँछौँ,’ उनले भने