भ्रमपूर्ण भाषणमा भविष्य देख्ने र क्षणिक स्वार्थमा विवेक बन्धक राख्ने बहुमतले देश बन्दैनः सांसद न्यौपाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले लोकतन्त्रमा नेता छनोटसँगै जनताको चेतना र विवेकको स्तर पनि परीक्षण हुने बताएका छन् ।

सामाजिक संजालमार्फत लोकतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद न्यौपानेले विवेकभन्दा प्रलोभन, योग्यताभन्दा पहुँच र कामभन्दा आकर्षक भाषणलाई प्राथमिकता दिने प्रवृत्तिले योग्य नेतृत्व स्थापित हुन नसक्ने बताएका हुन् ।

उनले एक छाक मासुभात र रक्सीमा मत बेच्ने, भ्रमपूर्ण भाषणमा भविष्य खोज्ने तथा क्षणिक स्वार्थका लागि आफ्नो विवेक बन्धक राख्ने प्रवृत्तिले देश निर्माण हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रमा नेता मात्र छानिँदैनन्, जनताको चेतना र विवेकको स्तर पनि नापिन्छ। जहाँ विवेकभन्दा प्रलोभन, योग्यताभन्दा पहुँच र कामभन्दा आकर्षक भाषणको मूल्य बढी हुन्छ, त्यहाँ योग्य नेतृत्व होइन, जनताको कमजोरी बुझेर खेल्नेहरु स्थापित हुन्छन्। एक छाक मासुभात र रक्सीमा मत बिक्ने, भ्रमपूर्ण भाषणमा भविष्य देख्ने र क्षणिक स्वार्थमा विवेक बन्धक राख्ने बहुमतले देश बन्दैन । नेताले जनतालाई प्रयोग गरिरहेका छन् कि जनताले आफ्नै विवेक प्रयोग गरेका छन् भन्ने कुराले लोकतन्त्रको गुणस्तर जाँचिन्छ।’