कार्यभार सम्हाल्न आइपुगे भारतका नवनियुक्त राजदूत दलेला


काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । नेपालका लागि भारतीय राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न उनी काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई भारतले गत असोज ३० गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो।

उनी भारतको विदेश सेवाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किसकेका छन् ।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका सुधाकरले आफ्नो कूटनीतिक करिअर इजरायलको तेलअभिभबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका दलेलाले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकका रूपमा काम गरेका थिए।