पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्ः वरिष्ठ उपसभापति शर्मा


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफ मागेका छन्। सामाजिक संजालमार्फत शर्माले पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना समाप्त नहुने भन्दै पक्राउ गर्ने निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय सार्वजनिक हुनुपर्ने बताएका हुन्।

उनले केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिको पहिचान गरी सरकारले सार्वजनिक गर्न नचाहेको आरोपसमेत लगाए। अहिले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति पनि उनले प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ । संचार गृह अगाडि मोटर राखेर केही महिना अघि ’आतंक’ सृजना गर्ने को थिए ? दोषी ’पत्ता लगाएर’ सार्वजनिक गर्न सरकारले चाहेन । अहिले संचार गृहभित्रै छिरेर पत्रकार पक्रिँदा प्रधानमन्त्री कार्यालयले भन्यो– ’गिरफ्तारीमा हामी संलग्न थिएनौं’ । प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार ’सरकारका रुपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो ।’

सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै समयमै प्रतिक्रिया दिएकोलाई उनले सकारात्मक मानेका छन्। तर, गैरकानुनी गतिविधि निरन्तर घटना नभई प्रवृत्ति बन्दै गएको भन्दै उनले सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘सत्तारूढ पार्टीले ’गिरफ्तारी गैरकानुनी’ भन्यो, समयमै भन्यो, सही भन्यो, ठिक छ । तर गैरकानुनी कर्मको निरन्तरता घटना होइन प्रवृत्ति बन्दै जाँदा प्रश्न उठ्छ– सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ? अनि गिरफ्तारी गैरकानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्यो भन्दा पर गैरकानुनी धन्दा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ/ मान्छ पनि ?’

उनले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले समर्थन मात्रै गर्ने हो कि त्यसको रक्षा पनि गर्ने हो भन्ने प्रश्नसमेत गरेका छन्। उनले भनेका छन्, ‘हामी स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा छौं । गलत र भ्रमपूर्ण समाचार खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि छन् । तिनको अनुसरण गरौं । संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्ड्याउने गैरकानुनी धन्दा बन्द गरौं । पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस् ।’