पत्रकार पक्राउको भोलिपल्ट आईजीपी कार्कीले भने-पत्रकारबाट सधैं सहासिक रिपोर्टिङको अपेक्षा गर्छौं


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपरक र साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका छन् ।

पत्रकार पक्राउको भोलिपल्ट शनिबार सामाजिक संजालमार्फत आईजीपी कार्कीले समाचार संकलन तथा सम्प्रेषणका क्रममा कुनै पनि प्रकारको अवरोध हुन नदिन नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् । समाचारको विषयलाई लिएर शुक्रबार प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, धिरज बस्नेतलगायतलाई पक्राउ गरेको थियो । तर सर्वत्र विरोध भएपछि केही घण्टामा रिहा गरेको थियो ।

यस्तो छ महानिरीक्ष कार्कीको भनाई

विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौँ ! आदरणीय आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू,
जय नेपाल !
यहाँहरू सबैलाई जानकारी नै छ, वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्नु अहिले हामी सबैको साझा दायित्व हो। विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ। यस क्रममा यहाँहरूको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ। यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।