युक्रेनलाई आर्थिक सहायता दिएको आरोपमा रुसी आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय


मस्को । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय सुनाएको छ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले रुसी अनुसन्धानकर्ताहरूलाई उनको चन्दासम्बन्धी विवरण उपलब्ध गराएपछि अदालतले यो सजाय सुनाएको हो।

अदालतको विज्ञप्तिअनुसार सोमबार दोस्रो पश्चिमी जिल्ला सैन्य अदालतले ४९ वर्षीय युरी बेलेन्कीलाई दोषी ठहर गर्दै ३ वर्षको साधारण जेल र त्यसपछिको १० वर्ष कडा खालको कारागारमा बिताउनुपर्ने गरी सजाय सुनाएको छ। रुसी सरकारी समाचार संस्था तासका अनुसार बेलेन्की ‘डीहाउस’ नामक कम्पनीका पूर्व आईटी निर्देशक हुन्।

सरकारी वकिलहरूले उनलाई १४ वर्षको सजाय माग गरेका थिए। अदालतले उनलाई ५ लाख रुबल (करिब ६ हजार ३ सय अमेरिकी डलर) जरिवानासमेत गराएको छ।

बुल्गेरियाको आवासीय अनुमतिपत्र रहेका बेलेन्कीलाई गत वर्षको सेप्टेम्बरमा मस्को भ्रमणका क्रममा नियन्त्रणमा लिइएको थियो। उनले आफूमाथिका आरोपहरू अस्वीकार गरेका छन् र उनका वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्।

आरआईए नोभोस्तीका अनुसार बेलेन्कीले अगस्ट २०२२ देखि मार्च २०२४ को बिचमा युक्रेनको सशस्त्र बल र रुसले ‘आतङ्ककारी’ घोषित गरेको आजोभ बटालियनका लागि १ लाख २० हजार रुबलभन्दा बढी (करिब १ हजार ५ सय अमेरिकी डलर) का १५ वटा क्रिप्टोकरेन्सी ट्रान्सफर गरेका थिए।

उनले रुसी पत्रकार तथा क्रेमलिनका आलोचक अर्कादी बाब्चेन्कोले पोस्ट गरेको भुक्तानी विवरण प्रयोग गरेका थिए। बेलेन्कीलाई रुसी वित्तीय अनुगमन एजेन्सीको ‘आतङ्ककारी र अतिवादी’ सूचीमा समेत राखिएको छ।

रुसी प्रहरीका कागजातहरूअनुसार बाइनान्सले रुसको अनुरोधमा बेलेन्कीको कारोबार विवरण उपलब्ध गराएको थियो। उक्त विवरण नै उनलाई दोषी ठहर गर्न मुख्य प्रमाण बनेको छ। राजनीतिक रूपमा प्रेरित मुद्दाहरूमा सहयोग गर्ने अधिकारवादी संस्था ‘फर्स्ट डिपार्टमेन्ट’का वकिल येभगेनी स्मिरनोभले भने, ‘बाइनान्सको जवाफ नै बेलेन्कीविरुद्धको आपराधिक मुद्दामा मुख्य प्रमाण बनेको छ।’

यद्यपि अदालतमा प्रतिरक्षा पक्षले उक्त तथ्याङ्क साँच्चै बाइनान्सबाट आएको हो वा होइन भन्नेमा प्रश्न उठाएको छ। सन् २०२२ देखि उक्त एक्सचेन्जले रुससँग सहकार्य नगरेको तासले जनाएको छ।

सजायका विषयमा सोधिएको प्रश्नमा बाइनान्सले आफूले कुनै पनि क्षेत्राधिकारको कानुन नबनाउने वा लागू नगर्ने र कानुनी कारबाहीमा सरकारले तथ्याङ्क कसरी प्रयोग गर्छ भन्ने निर्णय नगर्ने प्रतिक्रिया दिएको छ। उसले गोप्य अनुसन्धान वा व्यक्तिगत मुद्दाहरूमा टिप्पणी नगर्ने स्पष्ट पारेको छ। सन् २०२२ मा युक्रेनमाथि रुसको पूर्ण आक्रमण र त्यसपछि लागेको पश्चिमी प्रतिबन्धपछि बाइनान्स सन् २०२३ मा रुसी बजारबाट बाहिरिएको थियो।

क्रिप्टो नियमनका विज्ञ वकिल माइक बाइस्ट्रोभले बेलेन्कीको तथ्याङ्क दिन बाइनान्स बाध्य नभएको बताएका छन्। बेलेन्कीसँग बुल्गेरियाको आवासीय अनुमति भएकाले युरोपेली सङ्घको डेटा संरक्षण कानुनअनुसार बाइनान्सले विवरण नदिनुपर्ने उनको भनाइ छ।

‘फर्स्ट डिपार्टमेन्ट’को हालैको प्रतिवेदनअनुसार सन् २०२५ मा रुसमा दायर भएका देशद्रोह र जासुसीसम्बन्धी आरोपमध्ये करिब १० प्रतिशत युक्रेनी सङ्गठनहरूलाई दिइएको चन्दासँग सम्बन्धित छन्। रुसी अधिकारीहरूले क्रिप्टोकरेन्सी र बैंक भुक्तानी दुवै ट्र्याक गरिरहेका छन्। सन् २०२२ देखि गरिएका चन्दाका विषयमा पनि मुद्दा चलाउने क्रम जारी रहेको छ।