कालोधन रोक्न नोटबन्दी गर्नुपर्ने रास्वपा सांसदको मागमा नेकपाको समर्थन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नोटबन्दी गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले एकहजार र पाँच सय दरका नोटबन्दी गर्न माग गरेका हुन् ।

सांसद न्यौपानेले विगत ३५ वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरो लगाउनँदै नोटबन्दी गर्न माग गरे । कालो धनकै कारण देशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनले हजार र पाँच सय रुपैयाँका नोट तत्काल बन्द गर्नुपर्ने माग गरे ।

उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालोधनका कारण आज उनीहरू शक्ति प्राप्त भयो। यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यताकता सुनिँदैछ। हामीलाई थाहा छ यो पैसा कालो र यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नुपर्छ ।’

न्यौपाने बोलेलगत्तै बोलेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले उनको भनाईको समर्थन गरेका थिए ।

दुलालले सरकारले यो काम गरे त्यसमा आफ्नो पार्टीको समर्थन रहने बताए । उनले भने, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ? सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ, तैपनि सरकार किन पछाडि हटिरहेको छ ?’