डा. गोविन्दशरण उपाध्याय ।
ए घृणावादी हो, तिमीलाई आफ्ना स्वर्गीय बुवाआमा, हजुरबा–हजुरआमा र पितृहरूको सम्झना गर्न मन लाग्दैन भने नगर । तिमी उनीहरूको तस्वीर भित्ताबाट झिकेर फाल, धुलो लाग्न देऊ अथवा स्मृतिबाटै मेटिदेऊ । तिमीलाई आफ्ना पूर्वजप्रति कृतज्ञता व्यक्त गर्नु अन्धविश्वास लाग्छ भने आफ्नो विश्वासअनुसार बाँच । आफ्ना छोराछोरीलाई पनि आजै लेखेर देऊ—“म मरेपछि मलाई नसम्झनू, मेरो तस्वीर नराख्नू, मेरो नाममा एक थोपा जल पनि नचढाउनू र मेरो जीवनबाट तिमीहरूले केही पाएका छौ भने त्यसको धन्यवादसमेत नदिनू ।” त्यो तिम्रो व्यक्तिगत अधिकार हो । तर तिम्रो अधिकार त्यहाँ समाप्त हुन्छ, जहाँबाट अरूको आस्था, संस्कार र श्रद्धाको अधिकार आरम्भ हुन्छ ।
हामी सोह्रश्राद्ध गर्छौं । किन गर्छौं ? मृत शरीरलाई भोजन गराउन होइन । मृत्यु भइसकेका व्यक्तिलाई भौतिक रूपमा फर्काएर ल्याउन पनि होइन । हामी श्राद्ध गर्छौं, किनकि मानिस केवल वर्तमानमा उभिएको प्राणी होइन । उसको अस्तित्वको पछाडि एउटा लामो वंशपरम्परा हुन्छ । उसको शरीरमा उसका आमाबुवाको अंश हुन्छ । उसका संस्कारमा हजुरबा–हजुरआमाको प्रभाव हुन्छ । उसको भाषा, धर्म, संस्कार, सम्पत्ति, ज्ञान, सामाजिक परिचय र जीवनशैलीमा असङ्ख्य पूर्वजहरूको योगदान हुन्छ । आफूलाई “स्वनिर्मित” ठान्ने मानिसले पनि एकछिन शान्त भएर सोचोस्-उसलाई जन्म कसले दियो ? भाषा कसले सिकायो ? पहिलोपटक हात समातेर हिँडाउन कसले सिकायो ? बिरामी हुँदा रातभर जागेर निधारमा हात कसले राख्यो ? विद्यालयसम्म पुर्याउने, शिक्षित बनाउने, अनुशासन सिकाउने र जीवनको कठोरतासँग सामना गर्न सक्षम बनाउने मानिसहरू को थिए ?
हामी ती मानिसहरूप्रति कृतज्ञ छौँ । त्यसैले श्राद्ध गर्छौं । “श्राद्ध” शब्दकै जरो “श्रद्धा” हो । श्रद्धाबाट गरिएको कर्म श्राद्ध हो । यसको मूलमा आतंक होइन, कृतज्ञता छ । यसको केन्द्रमा मृत्युभय होइन, स्मृति छ । यसको भावमा अन्धविश्वास मात्र खोज्नेहरू सम्भवतः संस्कारको मनोविज्ञान बुझ्न चाहँदैनन् । संसारका प्रायः सबै सभ्यताले मृतकको स्मरण गर्छन् । कतै समाधिमा फूल चढाइन्छ । कतै मृतकको जन्मदिनमा परिवार जम्मा हुन्छ । कतै स्मारक बनाइन्छ । कतै मोमबत्ती बालिन्छ । कतै “मेमोरियल सर्भिस” आयोजना गरिन्छ । कतै युद्धमा मरेका सैनिकका नाम ढुङ्गामा कुँदिन्छन् । हामी हिन्दुहरूले पितृपक्षमा जल अर्पण गर्छौं, तर्पण गर्छौं, पिण्डदान गर्छौं र आफ्ना पूर्वजहरूलाई स्मरण गर्छौं । नाम फरक हुन सक्छ, विधि फरक हुन सक्छ, तर मानवताको एउटा साझा भाव छ-कृतज्ञ स्मृति ।
त्यसैले श्राद्धलाई केवल “मरेका मान्छेलाई भात खुवाउने अन्धविश्वास” भनेर खिल्ली उडाउनु बौद्धिकता होइन । त्यो सांस्कृतिक अशिक्षा पनि हुन सक्छ । कुनै कर्मकाण्डको दार्शनिक अर्थ नबुझी त्यसको बाहिरी रूपको मात्र उपहास गर्नु सजिलो हुन्छ । तर संस्कृति बुझ्न धैर्य चाहिन्छ । संस्कार बुझ्न संवेदनशीलता चाहिन्छ । पितृपरम्परा बुझ्न आफ्नै अस्तित्वको इतिहासप्रति विनम्रता चाहिन्छ । हामी सोह्रश्राद्धका दिन आफ्ना जन्मदातालाई सम्झन्छौँ । आफ्ना दिवङ्गत गुरुजन, आफन्त र पूर्वजहरूलाई सम्झन्छौँ । उनीहरूले दिएको जीवनका लागि धन्यवाद दिन्छौँ । उनीहरूले गरेको दुःख सम्झन्छौँ । हामीलाई शिक्षित, दीक्षित र प्रशिक्षित गरेर समाजमा उभिन योग्य बनाएकोमा नतमस्तक हुन्छौँ । उनीहरूका कमजोरी पनि थिए होलान् । उनीहरू देवता थिएनन् । तर हामी पनि निर्दोष छैनौँ । कृतज्ञता भनेको कसैलाई पूर्ण ठान्नु होइन । उसबाट प्राप्त उपकारलाई स्वीकार गर्नु हो ।
आधुनिक मनोविज्ञानले पनि स्मृति, शोक, पारिवारिक निरन्तरता र प्रतीकात्मक क्रियाको महत्व स्वीकार गर्छ । मृत्युले सम्बन्धको जैविक उपस्थिति समाप्त गर्छ, तर मनोवैज्ञानिक सम्बन्ध तुरुन्त समाप्त हुँदैन । प्रियजनको स्मरण, उनीहरूसँग जोडिएका सकारात्मक कथाहरूको पुनर्स्मरण, पारिवारिक संस्कारमा उनीहरूको सम्मान र पुस्ताबीच उनीहरूको योगदानको चर्चा शोकलाई अर्थपूर्ण रूपमा आत्मसात् गर्ने माध्यम बन्न सक्छ । हिन्दु परम्पराको श्राद्धलाई यस दृष्टिले हेर्दा यो केवल धार्मिक कर्म होइन, स्मृतिको संस्थागत अभ्यास पनि हो ।
तर केही मानिसलाई अरूको श्रद्धामाथि प्रहार नगरी आफ्नो विचार स्थापित गर्नै सकिँदैन जस्तो लाग्छ । कसैलाई भौतिकवादी हुनु छ भने होऊ । कसैलाई नास्तिक हुनु छ भने होऊ । कसैलाई इसाई, बौद्ध, मुस्लिम वा कुनै अर्को धार्मिक विश्वासमा रहनु छ भने रहोस् । प्रत्येक मानिसलाई आफ्नो विवेकअनुसार आस्था राख्ने अधिकार छ । तर आफ्नो विश्वासलाई श्रेष्ठ सिद्ध गर्न अर्काको श्रद्धालाई अपमान गर्नु सभ्यता होइन । विचारको उत्तर विचारले दिइन्छ, घृणाले होइन । असहमतिको अर्थ अपमान होइन ।
तिम्रो भौतिकवादले पितृश्रद्धा देखेर असहज अनुभव गर्छ भने त्यो भौतिकवादको समस्या हो, हाम्रो श्रद्धाको होइन । तिम्रो धार्मिक मान्यताले हिन्दुले आफ्ना पितृलाई जल चढाएको देखेर संकट अनुभव गर्छ भने त्यो धार्मिक असुरक्षाको विषय हो, हाम्रो संस्कारको होइन । हामीले तिमीलाई श्राद्ध गर्न बाध्य गरेका छैनौँ । हामीले तिमीलाई तर्पण गर्न बोलाएका छैनौँ । हामीले तिम्रो हात समातेर पिण्ड बनाउन लगाएका छैनौँ । तब हाम्रो घरभित्र, हाम्रो कुलपरम्पराअनुसार, हाम्रा पूर्वजलाई सम्झँदा तिम्रो टाउको किन दुख्छ ? हामी त अझ उदार छौँ । हाम्रो पितृस्मरण केवल केही “ठूला” मानिसका लागि सीमित छैन । हाम्रो परम्परामा ज्ञात–अज्ञात पितृहरूको स्मरण हुन्छ । परिवारमा अकालमा मरेका, दुर्घटनामा गएका, दुःखद परिस्थितिमा जीवन गुमाएका वा उचित संस्कार नपाएका मानिसलाई समेत स्मरण गरिन्छ । लोकपरम्परामा कतिपय ठाउँमा उनीहरूका निम्ति छुट्टै जल अर्पण गर्ने प्रचलन छ । अर्थात् स्मृतिबाट कसैलाई पूर्ण रूपमा बहिष्कार नगरियोस् भन्ने भाव यहाँ जीवित छ ।
श्राद्धको सबैभन्दा सुन्दर शिक्षा यही हो—तिमी एक्लै बनेका होइनौ । तिम्रो अस्तित्वमा असङ्ख्य मानिसको योगदान छ । तिमीले आज पाएको जीवन हिजोका अनगिन्ती त्यागहरूको परिणाम हो । आफ्नो सफलताको सम्पूर्ण श्रेय आफैँलाई दिने अहंकारलाई श्राद्धले भन्छ—“एकछिन रोक, तिम्रो पछाडि उभिएका मानिसलाई सम्झ ।” त्यसैले हामी पितृहरूलाई सम्झन्छौँ । हामी जल अर्पण गर्छौं । हामी धन्यवाद दिन्छौँ । हामी आफ्ना सन्तानलाई पनि सिकाउँछौँ—जसले तिमीलाई जीवन दियो, उसलाई नबिर्स । जसले तिमीलाई उठायो, उसलाई नबिर्स । जसले तिम्रो भविष्य बनाउन आफ्नो वर्तमान खर्च गर्यो, उसलाई नबिर्स ।
तिमीलाई यो संस्कार मन पर्दैन भने नमान । तर हाम्रो श्रद्धालाई घृणाको आँखाले नहेर । आफ्नो विचार राख, प्रश्न गर, शास्त्रीय बहस गर, प्रमाण माग । तर कसैका मृत आमाबुवा र पूर्वजप्रतिको श्रद्धालाई उपहास गरेर आफूलाई आधुनिक ठान्ने भ्रममा नपर्नू । किनकि पूर्वजलाई सम्झनु पिछडापन होइन । कृतज्ञ हुनु अन्धविश्वास होइन । आमाबुवालाई मृत्युपछि पनि सम्मान गर्नु अशिक्षा होइन । बरु आफ्नो जराप्रति सम्मान राख्नु मानवीय सभ्यताको परिचय हो । हामी श्राद्ध गर्छौं, किनकि हामी सम्झन्छौँ । हामी सम्झन्छौँ, किनकि हामी कृतज्ञ छौँ । र हामी कृतज्ञ छौँ, किनकि हामीलाई थाहा छ-हामी आज जहाँ उभिएका छौँ, त्यहाँसम्म आफ्नै खुट्टाले मात्र आइपुगेका होइनौँ ।

प्रतिक्रिया