काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिस गरेको हो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त), जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम प्रस्ताव गरिएको छ।
जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।
यसैगरी, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि मन्त्रिपरिषद्ले प्रस्ताव गरेको छ।
सरकारको सिफारिसपछि प्रस्तावित राजदूतहरूको नियुक्तिका लागि संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया