जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत निर्विरोध हुने निश्चित


काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम थियो । अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध हुने भएका हुन् । जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।

अध्यक्षबाहेक पदमा भने निर्वाचन हुने सम्भावना छ । उम्मेदवारको प्रारम्भिक सूची अनुसार सात उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी र माधवप्रसाद सिंहको उम्मेदवारी परेको छ । डा. जयकान्त राउत अध्यक्ष सीके राउतका दाजु हुन् ।

उपाध्यक्ष नै पदका लागि राजकुमार यादव त्यागी डा. कमरुल्लाह अन्सारी, सञ्ज्यकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाको पनि उम्मेदवारी परेको छ ।

एक जना महासचिव पदमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादवको उम्मेदवारी परेको जनमतको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । एक जना उपमहासचिव पदका लागि निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ । सात सचिव पदका लागि पनि १० जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशन सुरु हुन एक हप्ताअघि नै निर्वाचन समितिले निर्वाचनको प्रक्रिया थालेको हो । अध्यक्षबाहेकका पदाधिकारीमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको कारण निर्वाचन हुने सम्भावना रहेको एक नेताले बताए ।