काठमाडौं । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका देउवा पक्षीय जिल्ला सभापतिहरूको जिम्मेवारी खोसेको छ। अहिले संस्थापन पक्ष आक्रमक रूपमा महाधिवेशन तयारीमा जुट्दा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई भने आफ्नै निकटवर्तीले पनि साथ छाड्न थालेका छन् ।
सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसेर कार्यवाहक सभापति तोकेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपाका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ। महाधिवेशनसम्बन्धी कार्य अघि बढाउन जिम्मेवारी खोसिएका ठाउँमा कार्यवाहक तोकिएको छ ।
जिम्मेवारी खोसिएकामा कञ्चनपुरका सभापति पदम बोगटी, मुगुका सभापति ऐनबहादुर शाही, डोटीका सभापति नरेन्द्रबहादुर सिंह र बागलुङका सभापति जित शेरचन छन् । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार कञ्चनपुरमा हरिचन्द्र राना, मुगुमा हरिजङ्ग शाही, डोटीमा नारायणबहादुर बलायर र बागलुङमा तारानाथ पौडेललाई कार्यवाहक तोकिएको छ ।
मुगु सभापति ऐनबहादुर शाहीको जिम्मेवारी खोसिएपछि मुगु कांग्रेसले महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेश निषेध गरेको छ । कञ्चनपुर सभापति पदम बोगटीले विज्ञप्ति जारी गरी महाधिवेशन रोक्न आग्रह गरेका छन् ।
यसअघि बझाङ सभापति खड्कबहादुर बोहरासहित अहिले जिम्मेवारीबाट हटाइएका चारै जिल्लाका सभापतिलाई कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ मा पत्र पठाएर तत्काल लेबी बुुझाउन भनेका थिए । उनीहरूलाई असोज २ गते दिउँसो १ बजेसम्म बैंक खातामा रकम दाखिला गर्न भनिएको छ। कांग्रेसको १५औं महाधिवेशनको प्रयोजनका लािग क्रियाशील सदस्यताको रकम वडा तह हुँदै जिल्लामा आइसकेको भए पनि केन्द्रमा नबुझाएको पत्रमा उल्लेख छ। कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ ।
तर देउवा पक्ष भने आफैले १५औँ महाधिवेशन गर्ने अडानमा छन् । शुक्रबार गणेशमान सिंह स्मृति दिवसको अवसरमा शोभाभगवतीमा सिंहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रममा नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले नै १५औँ महाधिवेशन गर्ने जिकिर गरे । कांग्रेसको चाहना विशेष महाधिवेशन नभएको भन्दै त्यसलाई व्यक्तिगत महत्त्वकांक्षाको संज्ञा दिए । उनले भने, जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ ।’
तर असोज १ गतेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पक्षका ५१ नेता सहभागी भए । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १४औँ महाधिवेशनबाट निर्वाचित र १५औँ महाधिवेशनमा भाग लिन चाहने केन्द्रीय सदस्यलाई पनि समायोजना गरेपछि उनीहरु सानेपा पुुगेका थिए । सानेपा जानेमा तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, देउवाका एकदमै निकट मानिने मीनबहादुर विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्की पनि छन् ।
त्यस्तै, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार, गणेश लामा बैठकमा भाग लिन सानेपा पुगे । शेखर कोइराला पक्षकी किरण यादव र प्रदेश सभापति तथा बागमतीका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पनि सानेपा पुगे। सानेपा पुुगेपछि मीनबहादुर विश्वकर्माले भने, ‘हामी केन्द्रीय कार्यालय आएका छौं, १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि सबै तहबाट पहल गरौं भन्ने हाम्रो अपिल छ ।’
तर देउवा समूह पूर्वमहामन्त्री शंशाक कोइरलालाई १५औं महाधिवेशन तयारी समिति संयोजक बनाएरै १५औँ महाधिवेशन गर्ने तयारीमा छ । यो समूहले चुनदेवीमा छुट्टै कार्यालय खोलेको छ । देउवा सिंगापुरमा हुँदै यो कार्यालयको नेता पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए । तर अहिले खड्का पनि देउवा समूहमा सक्रिय छैनन् । उनी सानेपा पनि गएका छैनन् ।
देउवा समूहमा अहिले प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का र मानबहादुर विश्वकर्मा छन् । त्यस्तै, एनपी साउद, आनन्द ढुंगाना, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, कुन्दनराज काफ्ले लगायत केही नेता सक्रिय छन् । तर अधिकांश नेता पार्टी एकताका लागि भन्दै समायोजित केन्द्रीय समिति बैठकमा पुुगेपछि बाँकी धेरै नेता पनि फर्किने सम्भावना रहेको सानेपा पुुगेका देउवा पक्षीय एक नेताले बताए ।

प्रतिक्रिया