तनहुँ–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूचीमा आफ्नो नाम समावेश भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै न्यौपानेले भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा निरन्तर खटिनुपरेकाले निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसकेको बताएका छन्।
उनका अनुसार भदौ १२ देखि १९ गतेसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना तथा त्यसपछि भदौ ३० गतेसम्म चिलिमे जलविद्युत् आयोजना स्थलमा पुगेर उद्धार तथा समन्वयको काममा खटिएका थिए।
सम्पत्ति विवरण बुझाउने अन्तिम मिति भदौ २९ गते चिलिमे आयोजनास्थलबाटै आफ्नो स्वकीय सचिवमार्फत संसद् सचिवालयका सम्बन्धित शाखाका उपसचिव अभिराम राईसँग सम्पर्क गरी विवरण बुझाउने प्रक्रियाबारे जानकारी लिएको उनले बताएका छन्।
उपसचिव राईबाट प्रचलित व्यवस्थाअनुसार थप ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सकिने तथा निर्धारित समयमा विवरण बुझाउन नसक्नुको कारण खुलाउँदै निवेदनसहित विवरण पेस गर्न सकिने जानकारी प्राप्त भएको न्यौपानेको भनाइ छ।
सोही जानकारीअनुसार आफूले विवरण बुझाउन ढिलाइ हुनुको कारण उल्लेख गर्दै बिहीबार नै निवेदनसहित सम्पत्ति विवरण पेस गरिसकेको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा कानुन र स्थापित प्रक्रियाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै न्यौपानेले उद्धार कार्यमा खटिनुपरेको विशेष परिस्थितिका कारण भएको ढिलाइलाई अन्यथा नबुझिदिन सञ्चारमाध्यम तथा सरोकारवाला पक्षसँग आग्रह गरेका छन्।

प्रतिक्रिया