चिलिमेको सुरुङबाट निकालियो दुई शव


काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शव फेला परेका छन् । फेला परेका दुवै शव निकालिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा दुई वटा शव फेला परेका हुन् । उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।

गत १० भदौमा आएको विनाशनकारी बाढीपछि अहिले पनि पाँच हजारभन्दा बढी हराइरहेका छन् । विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

बाढीपछि कतिपय शव त्रिशूली नदीले गण्डक बाँध पनि नाघेर भारत पुर्याएको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । केही शव चितवनको नारायणघाटस्थित नारायणी नदीबाट पनि निकालिएको थियो ।

चिलिमेको सुरुङभित्र अर्को एउटा शव पनि देखिएको सेनाले जनाएको छ । त्यहाँ थप शव हुनसक्ने खोजी तथा उद्धारमा खटिएकाहरूको भनाइ छ ।