दुर्भाग्य किन नेपालले एउटा गतिलो नेता पाएन ?


डा. युवराज संग्रौला ।

माओ जदोङ्गले नेपालका पाँचजना नेतासँग भेटघाट गरेको पूर्ण विवरण ‘माओ जदोङ्ग इन डिप्लोमेसी’ भन्ने पुस्तकमा पाइन्छ, शायद यति धेरैले एउटै देशका नेता र राजा भेटेको देश नेपालमात्र हो । यही पुस्तकमा कुराकानीमा उनले भनेका छन्, ‘यदि हिमाल पार गरेर जाने अवसर भयो भने मैले जान चाहेको देश नेपाल हो।’ माओ रसियाबाहेक कुनै विदेश गएनन् ।

म २००४ मा ग्वांङ्गजाओ बि बि कानुन स्कुलमा भिजिटिङ्ग प्रोफेसर भएर गएँ । हनररी डिन जो तेङ्ग सियाओपिङ्गका कानुनी सल्लाहकार पनि थिए मलाई बोटमा रात्रीभोज दिए। त्यसताका माओको निकै आलोचना हुन्थ्यो, सांस्कृतिक क्रान्तिको कुरालाइ लिएर । ‘तपाईँलाई माओ कस्तो लाग्छ, केही जान्नु भएको छ?’ यो प्रश्नले मेरो दिमाग हल्लियो, के भन्ने होला । तर मैले आँट गरेर भनें ‘चुन्हीमा माओले बिद्रोह गरेर कम्युनिस्ट पार्टीलाई बो गु र जर्मन सैनिक सल्लाहकारको गलत मार्गबाट ननिकालेको भए र उनको तीक्ष्ण सैनिक रणनीति नदेखाएको भए, कम्युनिस्ट पार्टी रहने थिएन, कम्युनिस्ट पार्टी नरहेको भए, चिनियाँ क्रान्ति सम्भव थिएन, त्यो क्रान्ति विना नयाँ चीन हुने थिएन, र आज तङ्ग सियाओपिङ्गको नेतृत्वमा चीन अगाडि बढ्न पाउने थिएन । चीन पश्चिमी देशको अधिनमा हुने थियो।’ उनले बुढा हातले हात मिलाए।

२०१४ मा रेनमिन ल स्कुलका एक विद्यार्थीले मलाई पर्सको भित्र पट्टीबाट निकालेर माओको तस्बिर देखाए । तर विगत २ वर्षमा मैले चीनमा माओको जुन क्रेज देखेको छु, त्यसले मलाई अलि आश्चर्य पनि लागेको छ। यी तस्बिरमा उनको पुरानो घर देखिन्छ । माओ मरेपछि उनका सबै व्यक्तिगत सामान यही घरमा लगिएको छ, संग्रहालय बनाएर । यही घरबाट च्यांङ्ग काइसेकले उनकी श्रीमती पक्राउ गर्यो र जेलमै गोली हानेर मार्यो । उनका छोरा अनाथ भए र सडकमा बालश्रम गर्थे पछि पार्टीले भेट्टाएर पाल्यो ।

एक जना टिबी लागेर मरे । एक जनालाई पार्टीले रसिया पठाइदिएछ । चिङ्गगाङ्गसानमा उनले दोस्रो विवाह गरे । छोरी जन्मेकी थिइन् । एउटा किसानका घरमा राखेका थिए । च्यांङ्ग काइले गाउँमै बम खसालेर ध्वस्त पार्यो । सायद त्यही उनी पनि मरिन् । चियाङ्स्सीमा एउटा छोरा जन्मियो । लंङ्गमार्चमा छोरालाई भाइसँग छोडेका थिए । त्यो छोरा पनि बमबारीमा मर्यो । रसियामा भएको छोरा फर्किएर आएर एउटा कारखाना काम गर्थे तर कोरियाको युद्धमा स्वयम्सेवक भएर गए । अमेरिकी सेनाको बमबारीमा परे र मरे । उनका दुईटा सर्ट र तौलिया फिर्ता ल्याएका रहेछन् । माओले ती मर्ने बेलासम्म एउटा काठको ट्यांकामा राखेका रहेछन् ।

माओको देन चिनियाँ क्रान्तिमा ठूलो छ । उनी चीनको इतिहासका विद्वान थिए । सायदै चीनका शास्त्रीय कुनै पुस्तक थिए जो उनले पढेनन् । उनी एक राम्रा दार्शनिक पनि हुन् । उनले चिनियाँ क्रान्तिलाई चीनको संस्कृति र सभ्यतामा जोडे र मौलिक बनाए । उनले भने ‘चिनियाँ समाज धनुष हो, माक्र्सवादी चाहिँ बाँण । यो चिनियाँ धनुषबाट माक्र्सवादी बाँण चिनियाँ वर्गीय समाजको अन्तको उद्देश्यमा हान्नुपर्छ।’

आज चीन धनी र शक्तिशाली भएको छ, गरीबी उन्मूलन भयो । यो चिनियाँ युवालाई थाहा छ । त्यसैले माओ आज अत्यन्त लोकप्रिय छन् । समस्त पार्टी पोलिटब्युरो गएर उनको शालिकमा शिर निहुराएको थियो । दुर्भाग्य किन नेपालले एउटा गतिलो नेता पाएन ?