युवाहरूले देशलाई समृद्ध बनाउने हो भने अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नैपर्छः बाबुराम भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब साँच्चैं हाम्रा युवाहरूले देशलाई समृद्ध बनाउने हो भने राजनीति संगसंगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषिराम पाण्डेले पठाएको अर्गानिक स्याउको स्वाद लिएपछि भट्टराईले शुक्रबार सामाजिक संजालमार्फत देशको परनिर्भर अर्थतन्त्रको तथ्यांकसहित आम नागरिकलाई स्वदेशी उत्पादन प्रयोगको संकल्प गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘त्यसकोनिम्ति राज्यले अन्य कुरा अतिरिक्त खाद्यवस्तु र उर्जामा आत्मनिर्भर हुने नीति अपनाउने र सबै नागरिकले स्वेच्छिक ढंगले सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने वृहद् राष्ट्रिय अभियान नै चलाउने कि ? मैले त प्रधानमन्त्री रहेकै बेलादेखि कमसेकम जुत्ता चाहिं स्वदेशमै उत्पादित मात्रै प्रयोग गर्ने अठोट गरेर निरन्तर पालना गर्दै आएको छु। पछि स्वदेशमै बनेको अल्लोको कोट–पाइन्ट मात्रै औपचारिक कार्यक्रममा लगाउने अठोटसहित पालना गरिरहेछु । अरू पनि थप्दै जानेछु । हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला ?’

यस्तो छ बाबुरामको भनाई

जुम्लाको स्वादिलो अर्गानिक स्याउकानिम्ति चन्दननाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पाण्डेलाई हार्दिक धन्यवाद ! विडम्वनाको कुरा हो कि नेपालले गत बर्ष करिब चार खर्बको कृषिजन्य वस्तु आयात गर्यो। त्यसमध्ये फलफूल २१ अर्ब बराबर थियो भने त्यसमा सबभन्दा धेरै स्याउको हिस्सा १०.५५ अर्ब थियो । अर्थात् एकातिर जुम्ला, हुम्ला, मुस्ताङ, मनाङ लगायतका स्वदेशमै उत्पादित स्याउले बजार पाइरहेका छैनन् भने अर्कोतिर हामी हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बेचेर पठाएको रेमिटेन्स खर्चेर विदेशी स्याउ भित्राइरहेछौं ।

अब साँच्चैं हाम्रा युवाहरूले देशलाई समृद्ध बनाउने हो भने राजनीति सँगसँगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नैपर्छ ।
त्यसकोनिम्ति राज्यले अन्य कुरा अतिरिक्त खाद्यवस्तु र उर्जामा आत्मनिर्भर हुने नीति अपनाउने र सबै नागरिकले स्वेच्छिक ढंगले सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्ने वृहद् राष्ट्रिय अभियान नै चलाउने कि ?

मैले त प्रधानमन्त्री रहेकै बेलादेखि कमसेकम जुत्ता चाहिं स्वदेशमै उत्पादित मात्रै प्रयोग गर्ने अठोट गरेर निरन्तर पालना गर्दै आएको छु। पछि स्वदेशमै बनेकोअल्लोको कोट–पाइन्ट मात्रै औपचारिक कार्यक्रममा लगाउने अठोट सहित पालना गरिरहेछु। अरू पनि थप्दै जानेछु । हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला?