काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट तथा पार्टीका विभिन्न तहका अधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला उम्मेदवारी घोषणा र प्रचारप्रसारमा रोक लगाएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार निर्देशन जारी गर्दै उम्मेदवार क्लबमा आबद्ध भएको वा आवेदन दिएको आधारमा उम्मेदवारका रूपमा प्रस्तुत हुन नपाइने स्पष्ट पारेको हो ।
आयोगका अनुसार स्थानीय निर्वाचनका लागि उम्मेदवार क्लबमा आबद्ध हुनु वा आवेदन दिनु उम्मेदवारीको अन्तिम सुनिश्चितता होइन । नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचनलगायत निर्धारित प्रक्रिया पूरा भएपछि मात्रै पार्टीले अन्तिम उम्मेदवार तय गर्नेछ ।
आवेदन दिएको आधारमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा तथा प्रचारप्रसार गर्नु विधिविपरीत हुने आयोगले जनाएको छ । त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी निर्वाचन प्रक्रिया प्रभावित नगर्न पनि आयोगले निर्देशन दिएको छ । सबै योग्य सदस्य तथा आकांक्षीलाई समान अवसर सुनिश्चित गर्नुपर्ने उसको भनाइ छ ।
पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशन हुन बाँकी रहेका संरचनालाई तयारी अघि बढाउँदा माथिल्लो तहका नेतृत्व तथा विभागसँग परामर्श र समन्वय गर्न पनि आयोगले आग्रह गरेको छ ।
सम्बन्धित अधिवेशनको आधिकारिक मिति र कार्यतालिका घोषणा हुनुअघि नेतृत्वका लागि उम्मेदवारी घोषणा वा प्रचारप्रसार गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सबै गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्रै सञ्चालन गर्नुपर्ने भन्दै आयोगले कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन नगर्नसमेत सचेत गराएको छ ।



प्रतिक्रिया