– रामसुन्दर बके
कैलाश मानसरोवर संसारभरका सनातन धर्मावलम्बीका लागि एउटा हिमाल वा भौगोलिक स्थान मात्र नभई आस्था र आध्यात्मिक विश्वाससँग जोडिएको महत्वपूर्ण तीर्थस्थल हो । धार्मिक विश्वासले कुनै भूगोललाई कसरी पुस्तौँदेखि मानिसको चेतनासँग जोड्न सक्छ र त्यही आस्थाले कसरी एउटा ठूलो पर्यटन तथा स्थानीय अर्थतन्त्र निर्माण गर्न सक्छ भन्ने उदाहरण कैलाश मानसरोवरले प्रस्तुत गर्छ । नेपाल आफैँ हिमाल, धर्म, संस्कृति र अध्यात्मको भूमि हो । त्यसैले नेपालभित्र रहेका यस्ता सम्भावनाको पहिचान र प्रवद्र्धनबारे अब गम्भीरतापूर्वक सोच्ने समय आएको छ ।
त्यस सन्दर्भमा दोलखाको गौरीशंकर हिमाल महत्वपूर्ण सम्भावनाका रूपमा अगाडि आउँछ । हामीले गौरीशंकरलाई अहिलेसम्म मुख्यतः प्राकृतिक सुन्दरता र हिमाली पर्यटनको दृष्टिले हेर्दै आएका छौँ । तर यसको सम्भावना त्यतिमै सीमित छैन । गौरीशंकरसँग भगवान् शिव र माता पार्वतीको सम्बन्ध जोडेर श्रद्धा गर्ने धार्मिक तथा स्थानीय परम्परा छ । नेपाल पर्यटन बोर्डले समेत बागमती प्रदेशको पर्यटनसम्बन्धी सामग्रीमा गौरीशंकर शिखरलाई भगवान् शिव र पार्वतीको वासस्थानका रूपमा श्रद्धा गरिने उल्लेख गरेको छ ।
हामीले यस विषयलाई भावनात्मक दाबीमा मात्रै सीमित गरेर हेर्नु उपयुक्त हुँदैन । गौरीशंकरसँग जोडिएका धार्मिक मान्यता, स्थानीय किंवदन्ती, मौखिक इतिहास, धार्मिक स्थल, सांस्कृतिक अभ्यास र उपलब्ध ऐतिहासिक स्रोतको अध्ययन आवश्यक छ । पुराण तथा अन्य शास्त्रीय सामग्री, इतिहास, भूगोल, पुरातत्त्व, संस्कृति र स्थानीय परम्पराका अध्येतालाई एउटै अनुसन्धान प्रक्रियामा जोडेर यसको वास्तविक पृष्ठभूमि खोजिनुपर्ने अहिलेको आवश्यकता हो । यस्तो अध्ययन, खोज तथा अनुसन्धानबाट प्राप्त निष्कर्षकै आधारमा गौरीशंकरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्न सकिन्छ ।
यही सन्दर्भमा गौरीशंकरलाई ‘नेपालको कैलाश’का रूपमा प्रवद्र्धन गर्ने अवधारणाले अर्थ राख्छ । यसको आशय गौरीशंकर नै कैलाश हो भन्ने स्थापित नभएको दाबी गर्नु होइन । कैलाश मानसरोवरको आफ्नै धार्मिक महत्त्वलाई सम्मान गर्दै नेपालमा रहेको गौरीशंकरको मौलिक धार्मिक, प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्भावनालाई खोजी र अध्ययनका आधारमा विश्वसामु चिनाउनु हो । कैलाशले विश्वव्यापी धार्मिक पर्यटनमा बनाएको स्थानबाट सिक्दै नेपालले आफ्नो मौलिक गन्तव्य निर्माण गर्नुपर्ने बेला आएको छ ।
गौरीशंकरको नाम आफैँमा पनि सांस्कृतिक अर्थ बोकेको छ । ‘गौरी’ र ‘शंकर’ अर्थात् पार्वती र शिवसँग जोडिएको नामले यस हिमाली भूगोलसँग सम्बन्धित धार्मिक चेतनातर्फ संकेत गरेका बुझ्न सकिन्छ । यससँग जोडिएका स्थानीय विश्वास र परम्परा के हुन्, यसको ऐतिहासिक पृष्ठभूमि के छ र विभिन्न धार्मिक तथा सांस्कृतिक स्रोतमा यसको उल्लेख वा सम्बन्ध कसरी आएको छ भन्ने विषयमा गहिरो अध्ययन हुन सकेमा गौरीशंकरबारे हाम्रो बुझाइ अझ स्पष्ट हुनेछ । आस्थालाई प्रमाणसँग जोडेर प्रस्तुत गर्नु नै दीर्घकालीन रूपमा विश्वसनीय बाटो हो ।
गौरीशंकरको सम्भावना धार्मिक पक्षमा मात्र सीमित छैन । नेपाल सरकारका अनुसार गौरीशंकर संरक्षण क्षेत्र २,१७९ वर्ग किलोमिटरमा फैलिएको छ र दोलखासहित रामेछाप तथा सिन्धुपाल्चोकका भूभागलाई समेट्छ । यस क्षेत्रमा हिमाली भूगोलसँगै उल्लेखनीय जैविक विविधता, वन्यजन्तु, वनस्पति, हिमताल, हिमनदी तथा विभिन्न समुदायको सांस्कृतिक जीवन रहेको छ । संरक्षण क्षेत्रको उचाइ करिब एक हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म फैलिएको छ । यस्तो भौगोलिक र प्राकृतिक विविधताले गौरीशंकरलाई एउटै प्रकारको पर्यटनमा सीमित नराखी विभिन्न पर्यटन उत्पादन विकास गर्न सकिने आधार दिएको छ ।
धार्मिक तथा आध्यात्मिक पर्यटन, पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, प्रकृति अवलोकन, जैविक तथा वातावरणीय अनुसन्धान, सांस्कृतिक पर्यटन, योग–ध्यान, आध्यात्मिक साधना र शैक्षिक भ्रमणजस्ता गतिविधिलाई व्यवस्थित रूपमा विकास गर्न सकिन्छ । जिरी, चरिकोट, कालिञ्चोक, भीमेश्वर, रोल्वालिङ, च्छो–रोल्पा, लामाबगर, विगु र हिमाली बस्तीलाई एकअर्कासँग जोडेर पर्यटन सर्किटको अवधारणा अघि बढाउन सकिन्छ । यसले पर्यटकको बसाइ लम्ब्याउने मात्रै नभई जिल्लाका विभिन्न क्षेत्रमा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ विस्तार गर्ने आधार पनि तयार गर्छ ।
धार्मिक र प्राकृतिक गन्तव्यसँगै गौरीशंकरको पर्यटन सम्भावनाका अरु विविध आयामहरु रहेका छन् । दोलखाको जिरी कुनै समय सगरमाथा प्रवेश गर्ने प्रमुख मार्गका रूपमा परिचित थियो । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहणका क्रममा जिरी हुँदै अघि बढेको इतिहासले दोलखालाई सगरमाथा आरोहणको इतिहाससँग जोडेको छ । यसरी ‘गेटवे टु सगरमाथा’को पुरानो पहिचानलाई समेत नयाँ ढंगले पुनः स्थापित गर्न सकिन्छ । जिरीमा स्थापित तेन्जिङ–हिलारी पार्कलाई थप व्यवस्थित तथा स्तरोन्नति गर्दै दोलखादेखि सोलुखुम्बुसम्मको ऐतिहासिक पदमार्गलाई ‘तेन्जिङ–हिलारी मार्ग’का रूपमा संरक्षण, विकास र प्रवद्र्धन गर्न सके त्यसले तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको ऐतिहासिक विरासतको सम्मानसँगै दोलखालाई सगरमाथा क्षेत्रसँग पुनः जोड्ने महत्वपूर्ण पर्यटन अवसर सिर्जना गर्न सक्छ ।
यसै कारण दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभामा दोलखालाई बाग्मती प्रदेशको पर्यटनको राजधानी बनाउने अभियानको अवधारणा अघि सारिएको हो । कुनै एक गन्तव्यलाई मात्र अगाडि बढाएर जिल्लाको पर्यटन विकास सम्भव हुँदैन । दोलखामा रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक र साहसिक गन्तव्यलाई एउटै पर्यटन प्रणालीमा जोड्न सकेमा यसले जिल्लालाई विशिष्ट पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्छ । गौरीशंकरलाई यसको प्रमुख पहिचानका रूपमा अघि सार्दै कालिञ्चोकको धार्मिक पर्यटन, जिरीको हिमाली पर्यटन तथा प्रवेशद्वारको भूमिका, रोल्वालिङ र च्छो–रोल्पाको साहसिक पर्यटन तथा भीमेश्वरलगायतका धार्मिक–ऐतिहासिक स्थललाई जोडेर एउटा समग्र गन्तव्य निर्माण गर्न सकिन्छ ।
पर्यटन विकासको अन्तिम उद्देश्य पर्यटकको संख्या बढाउनु मात्र हुनु हुँदैन । पर्यटनले स्थानीय नागरिकको जीवनमा के परिवर्तन ल्यायो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । दोलखाका युवाले रोजगारीका लागि आफ्नो गाउँ छोड्नुपर्ने अवस्था कम होस्, स्थानीय महिलाले होमस्टे तथा साना उद्यम सञ्चालन गर्न सकून्, किसानले आफ्ना उत्पादनको बजार पाऊन्, स्थानीय गाइड, चालक, होटल व्यवसायी र हस्तकर्मीले आम्दानीको अवसर पाऊन्; पर्यटन विकासको मूल्यांकन यही आधारमा हुनुपर्छ ।
एउटा पर्यटक वा तीर्थयात्री कुनै एउटा होटलको ग्राहक मात्र होइन । उसले यातायात सेवा प्रयोग गर्छ, स्थानीय खाना खान्छ, स्थानीय उत्पादन खरिद गर्छ, गाइड लिन्छ, होमस्टेमा बस्न सक्छ र स्थानीय संस्कृति तथा जीवनशैलीको अनुभव गर्ने हुँदा पर्यटन विस्तार हुँदा त्यसको प्रभाव होटल व्यवसायभन्दा बाहिर पुगेर समग्र कृषि, यातायात, हस्तकला, खुद्रा व्यापार, निर्माण र अन्य सेवा क्षेत्रमा समेत देखिन्छ । यसलाई व्यवस्थित गर्न सकियो भने गौरीशंकर केन्द्रित पर्यटन दोलखाका हजारौँ परिवारका लागि रोजगारी र आयको स्रोत बन्न सक्छ। यसका लागि स्थानीय नागरिकलाई पर्यटनको लाभग्राही मात्र होइन, प्रत्यक्ष साझेदार बनाउन आवश्यक छ । स्थानीय उत्पादनलाई होटल र रेस्टुरेन्टसँग जोड्ने, स्थानीय परिकारलाई पर्यटन उत्पादन बनाउने, महिलालाई होमस्टे तथा उद्यममा जोड्ने, युवालाई गाइड, आतिथ्य सेवा, भाषा, प्राथमिक उपचार र उद्धारसम्बन्धी तालिम दिने तथा स्थानीय संस्कृति र परम्परालाई सम्मानपूर्वक पर्यटनसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । संरक्षण क्षेत्रमा समुदायको जीविकोपार्जन, होमस्टे र इको–ट्रेलसँग सम्बन्धित प्रयासहरू भइरहेका छन् । यस्ता अनुभवलाई अझ व्यवस्थित र व्यापक बनाउन सकिन्छ ।
गौरीशंकरको विकास गर्दा संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । संवेदनशील हिमाली भूगोलमा अनियन्त्रित पर्यटनले प्राकृतिक वातावरण र स्थानीय संस्कृतिमा दबाब सिर्जना गर्न सक्छ । त्यसैले पर्यटकको संख्या मात्र बढाउने नभई वातावरणीय क्षमताअनुसार दिगो पर्यटन विकास गर्नुपर्छ । पदमार्ग, पानीका स्रोत, वन्यजन्तु, जैविक विविधता र स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणसँग पर्यटन योजनालाई जोड्न आवश्यक छ । हाम्रो उद्देश्य प्रकृतिलाई जोखिममा पारेर पर्यटन विस्तार गर्नु कदापी होइन, प्रकृति संरक्षणकै आधारमा पर्यटनलाई दीर्घकालीन आर्थिक गतिविधिका रूपमा विकास गर्नु हो ।
यति ठूलो सम्भावनालाई व्यवहारमा उतार्न राज्य, निजी क्षेत्र र समुदायको सहकार्य अनिवार्य छ । नेपाल सरकारले गौरीशंकरलाई राष्ट्रिय पर्यटन प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सक्छ । बागमती प्रदेश सरकारले प्रदेशको हिमाली पर्यटन विकास योजनासँग यसलाई जोड्न सक्छ । सम्बन्धित स्थानीय पालिकाले स्थानीय पूर्वाधार, सरसफाइ, खानेपानी, सूचना, पर्यटन सेवा र गन्तव्य व्यवस्थापनमा नेतृत्व लिन सक्छन् । नेपाल पर्यटन बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन, डिजिटल अभियान, पर्यटन मेला, ट्राभल मार्ट, सञ्चार अभियान तथा परिचयात्मक भ्रमणमार्फत गौरीशंकरलाई विश्व पर्यटन बजारमा प्रस्तुत गर्न सक्छ ।
संरक्षणसँग सम्बन्धित निकायको भूमिका वातावरणीय सन्तुलन कायम गर्नुमा हुनेछ भने विश्वविद्यालय र प्राज्ञिक संस्थाले अनुसन्धानको आधार तयार गर्न सक्छन् । धर्म तथा संस्कृतिका अध्येता, इतिहासकार, पुरातत्त्वविद्, भूगोलविद्, वातावरणविद्, समाजशास्त्री, अर्थशास्त्री, पर्वतारोहण तथा पर्यटन विज्ञलाई एउटै अनुसन्धान प्रक्रियामा जोडेर गौरीशंकरको बहुआयामिक अध्ययन गर्न सकिन्छ र यहि नै अहिलेको आवश्यकता हो । यसबाट धार्मिक विश्वासदेखि जैविक विविधता, स्थानीय अर्थतन्त्र, पर्यटनको वहन क्षमता र जलवायु परिवर्तनसम्मका विषयमा आवश्यक ज्ञान निर्माण हुनेछ ।
गौरीशंकरको प्रचार नेपालभित्र मात्र सीमित नराखि संसारभर रहेका सनातन धर्मावलम्बीसम्म यसको कथा पुर्याउन आवश्यक छ । आज डिजिटल माध्यमले कुनै पनि गन्तव्यलाई विश्वको जुनसुकै कुनामा पुर्याउन सक्ने अवस्था बनाएको छ । अनुसन्धानमा आधारित वृत्तचित्र, पुस्तक, फोटो तथा भिडियो अभिलेख, बहुभाषिक डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, धार्मिक तथा सांस्कृतिक संवाद, अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन र प्रवासी नेपाली समुदायसँगको सहकार्यबाट गौरीशंकरलाई अन्तर्राष्ट्रिय संवादको विषय बनाउन सकिन्छ ।
यस क्रममा गौरीशंकरसँग सम्बन्धित महत्वपूर्ण अध्ययन, भ्रमण, संवाद, धार्मिक कार्यक्रम, पर्यटन गतिविधि र अभियानलाई व्यवस्थित रूपमा अभिलेख गर्नुपर्छ । अहिले तयार गरिएको एउटा राम्रो अभिलेख भविष्यमा अनुसन्धान, पर्यटन प्रवद्र्धन र नयाँ पुस्ताका लागि ज्ञानको स्रोत बन्न सक्छ । त्यसैले दीर्घकालमा ‘Gaurishankar Knowledge & Digital Archive’ निर्माण गर्ने अवधारणालाई पनि अघि बढाउन सकिन्छ । यस्तो अभिलेखले गौरीशंकरको कथा प्रमाण र दस्तावेजसहित विश्वसामु प्रस्तुत गर्न सहयोग पुर्याउनेछ ।
होटल तथा पर्यटन व्यवसायीको भूमिका पनि यस अभियानमा महत्वपूर्ण रहन्छ । होटल व्यवसाय केवल कोठा र खाना बिक्री गर्ने व्यवसाय नभई गन्तव्य निर्माणमा समेत यसको प्रत्यक्ष भूमिका हुन्छ र रहनुपर्दछ । पर्यटक कहाँ जाने, कति समय बस्ने र स्थानीय क्षेत्रमा कति खर्च गर्ने भन्ने कुरामा होटल तथा पर्यटन व्यवसायीको सूचना, सेवा र सञ्जालको पनि प्रभाव हुन्छ । त्यसैले बागमती होटल संघ गौरीशंकरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा निजी क्षेत्रलाई संगठित गर्न, होटल व्यवसायीलाई जोड्न, स्थानीय उत्पादनको प्रयोग बढाउन र गुणस्तरीय आतिथ्य सेवाको विकास गर्न अग्रसर हुन तयार छ ।
बागमती होटल संघका सदस्य होटलहरूले गौरीशंकरलाई आफ्नो साझा पर्यटन गन्तव्यका रूपमा लिन सकून् भन्ने हामी चाहन्छौँ । काठमाडौंलगायत बागमती प्रदेशका विभिन्न शहरमा आउने पर्यटकलाई गौरीशंकर, दोलखा र त्यससँग जोडिएका गन्तव्यबारे जानकारी दिने, पर्यटन प्याकेज निर्माण गर्ने र स्थानीय व्यवसायी तथा समुदायसँग सहकार्य गर्ने वातावरण बनाउन सकिन्छ । निजी क्षेत्रको यस्तो सहभागिताले अभियानलाई सरकारी कार्यक्रमभन्दा फरक, दीर्घकालीन र आर्थिक रूपमा दिगो बनाउन मद्दत गर्नेछ । तर यो अभियानको नेतृत्व बागमती होटल संघले गर्ने भन्दैमा यसको जिम्मेवारी संघको मात्र हो भन्ने बुझाइ कदापी रहनु हुँदैन । गौरीशंकर राष्ट्रिय सम्पदा हो भने यसको संरक्षण र प्रवद्र्धन पनि राष्ट्रिय जिम्मेवारी हो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल पर्यटन बोर्ड, संरक्षण निकाय, विश्वविद्यालय, विज्ञ, निजी क्षेत्र, सञ्चारमाध्यम र स्थानीय समुदाय सबैको आ–आफ्नो भूमिका छ । विश्वभर रहेका नेपाली तथा सनातन धर्मावलम्बी समुदायलाई पनि यस अभियानसँग जोड्न सकिन्छ । यसका लागि सरकारी बजेट मात्र पर्याप्त हुने छैन । निजी क्षेत्रको लगानी, संस्थागत सामाजिक उत्तरदायित्व, अनुसन्धान अनुदान, विकास साझेदार, धार्मिक तथा सांस्कृतिक संस्थाको सहयोग, प्रवासी नेपाली समुदाय र अन्तर्राष्ट्रिय पर्यटन साझेदारीलाई पनि व्यवस्थित रूपमा परिचालन गर्न सकिन्छ । अनुसन्धान, संरक्षण, समुदाय र प्रवद्र्धनका कार्यक्रमलाई पारदर्शी ढंगले अघि बढाउन आवश्यक स्रोत व्यवस्थापनका लागि ‘Gaurishankar Research, Promotion & Conservation Fund’ जस्तो अवधारणामाथि पनि छलफल गर्न सकिन्छ ।
गौरीशंकरलाई विश्वसामु चिनाउने विषय अब कुनै एक जिल्लाको आकांक्षा मात्र बन्नु हुँदैन । यो नेपालको पर्यटनलाई नयाँ गन्तव्य, धार्मिक पर्यटनलाई नयाँ आयाम र हिमाली क्षेत्रको स्थानीय अर्थतन्त्रलाई नयाँ आधार दिने राष्ट्रिय अवसरका रूपमा हेर्नुपर्छ । विश्वका विभिन्न मुलुकमा रहेका सनातन धर्मावलम्बीको आस्थासँग नेपालका आफ्नै धार्मिक तथा प्राकृतिक सम्पदालाई जोड्न सकियो भने त्यसको सांस्कृतिक प्रभावसँगै आर्थिक प्रभाव पनि ठूलो हुन सक्छ । त्यसैले अब गौरीशंकर हिमालको धार्मिक विश्वासको अध्ययन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ, पर्यटन पूर्वाधार विकास गर्नुपर्छ, स्थानीय नागरिकलाई रोजगारीसँग जोड्नुपर्छ र यसको कथा प्रमाण तथा दस्तावेजसहित संसारसामु पुर्याउनुपर्छ ।
बागमती होटल संघ यस काममा अग्रसरता लिन तयार छ । सरकारसँग सहकार्य गर्न, प्रदेश र स्थानीय तहसँग हातेमालो गर्न, पर्यटन बोर्ड तथा संरक्षण निकायसँग समन्वय गर्न, विश्वविद्यालय र विज्ञलाई अनुसन्धानमा जोड्न, निजी क्षेत्रलाई परिचालन गर्न र स्थानीय समुदायलाई अभियानको केन्द्रमा राख्न हामी तयार छौँ । यो अभियान कुनै एक संस्थाको कार्यक्रम नभई सबैको साझा प्रयास बन्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो । हामीले धेरै वर्षदेखि नेपालका सम्भावित पर्यटन गन्तव्यबारे चर्चा गर्दै आएका छौँ । अब चर्चा मात्र गरेर पुग्दैन । सम्भावनालाई योजनामा, योजनालाई काममा र कामलाई परिणाममा बदल्ने समय आएको छ ।
गौरीशंकर त्यसका लागि एउटा उपयुक्त सुरुवात हुन सक्छ । दोलखालाई पर्यटनको राजधानी बनाउने अभियानको घोषणा भइसकेको सन्दर्भमा उक्त घोषणालाई व्यवहारमा उतार्ने काम सुरु गर्नुपर्छ । गौरीशंकरलाई केन्द्रमा राखेर आस्था, प्रकृति, संस्कृति, पर्यटन, रोजगारी र स्थानीय समृद्धिलाई एउटै यात्रामा जोड्न सकियो भने यसको लाभ दोलखामा मात्र सीमित रहने नभई यसले बागमती प्रदेश हुँदै सिंगो नेपालको पर्यटन अर्थतन्त्रमा योगदान पुर्याउन सक्छ। हाम्रो जिम्मेवारी गौरीशंकरको वास्तविक महत्त्व खोज्नु हो । यसको धार्मिक आस्थालाई सम्मान गर्नु, प्रमाण र अनुसन्धानबाट त्यसलाई बुझ्नु, प्राकृतिक सम्पदालाई जोगाउनु र त्यसको सम्भावनाबाट स्थानीय नागरिक तथा समग्र मुलुकलाई लाभान्वित गराउनु हो । यही बाटोबाट गौरीशंकर नेपालको गौरव, विश्वभरका सनातन धर्मावलम्बीका लागि परिचित आस्थाको गन्तव्य र नेपालको आर्थिक उन्नयनको एउटा महत्वपूर्ण आधार बन्न सक्छ । गौरीशंकरको यात्रा अब आस्थाबाट अनुसन्धानतर्फ, अनुसन्धानबाट संरक्षणतर्फ, संरक्षणबाट पर्यटनतर्फ र पर्यटनबाट स्थानीय हुँदे समग्र मुलुकको समृद्धितर्फको हुनुपर्दछ ।
(होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष बके पर्यटन व्यवसायी एवं ‘जे पाक्छ, त्यही बिक्छ’ अभियानका
अभियन्ता समेत हुन् ।)

प्रतिक्रिया