सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग उद्धार कार्यका लागि ड्रोन, लिडार र उच्च क्षमताका पम्प माग


काठमाडौँ । सरकारले भाटेकोसी बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष अत्याधुनिक उपकरण माग गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको अद्यावधिक विवरणमा विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप अत्यावश्यक सामग्री सहयोग माग गरिएको उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उच्च क्षमताका ड्रोन, लिडार प्रविधि, बेलीब्रिज, महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी सामग्री, डीएनए परीक्षण किट, उच्च क्षमताका पानी तान्ने पम्प, प्रयोगशाला फ्रिजर तथा हिलो र सुरुङमा उद्धारका लागि प्रयोग हुने विशेष पोसाकलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरिएको छ ।

मन्त्रालयले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन यी सामग्री आवश्यक रहेको जनाएको छ ।

नेपाललाई भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, यूएई, कतार, सिंगापुरलगायत विभिन्न मुलुक तथा युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ।