सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा पाकिस्तानका मिसबाह उलहक नियुक्त


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

पहिलो र दोस्रो संस्करणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका जगत टमाटाको स्थानमा मिसबाहलाई नियुक्त गरिएको सुदूरपश्चिम रोयल्सले आज सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा जानकारी दिएको हो ।

पाकिस्तानको राष्ट्रिय टोलीबाट लामो समय खेलेका अनुभवी ब्याटर मिसबाहले अब एनपिएलमा सुदूरपश्चिमको नेतृत्व सम्हाल्नेछन् । मिसबाहले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै प्रारूपमा खेखेका छन् । उनले ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए ।

खेलाडीको रूपमा स्थापित मिसबाहले कप्तानको भूमिकामा पनि पाकिस्तानको क्रिकेटमा महत्त्वपूर्ण योगदान दिइसकेका छन् । उनको नेतृत्वमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जितेको थियो ।

मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरका अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका थिए । सन् २०१९ देखि २०२१ सम्म उनले पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हालेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा अनुभव हासिल गरेका मिसबाहको नियुक्तिले सुदूरपश्चिमको आगामी सिजनको तयारीलाई थप चासोका साथ हेरिएको छ ।

मिसबाहले पनि नेपाल आउन र सुदूरपश्चिमको प्रशिक्षक बन्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपाली समर्थकको क्रिकेटप्रतिको लगावबारे आफूले सुनेको उल्लेख गर्दै छिट्टै नेपालमा भेट हुने बताएका छन् । तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।