मानसिक सहयोगः हामी सँगै छौं नि !!


डा.गोविन्दशरण उपाध्याय ।

नमस्ते सबैमा,
हाम्रो देशले छोटोछोटो अन्तरालमा मानवीय तथा प्राकृतिक विपत्तिहरू भोग्नु परिरहेको छ । एउटा घाउ निको हुन नपाउँदै अर्को विपत्तिले ढोका ढकढक्याउँछ । यसपटक रसुवामा आएको बाढी–विपत्तिले सिङ्गो देशलाई रुवाएको छ । मानवीय क्षति, विस्थापन, घर–सम्पत्तिको विनाश र भविष्यप्रतिको अनिश्चितता यति ठूलो छ कि सङ्ख्याले मात्र त्यसको पीडा व्यक्त गर्न सक्दैन । कसैले घर गुमाएको छ, कसैले परिवार, कसैले वर्षौँको कमाइ र कसैले आफ्नो जीवनको आधार नै गुमाएको छ । यस्तो अवस्थामा देशभित्र र विदेशमा रहेका नेपालीहरू तथा नेपालप्रति सद्भाव राख्ने विदेशी मित्रहरूले समेत आफ्नो गच्छेअनुसार सहयोग गरिरहेका छन् । दुःखको यस्तो घडीमा देखिएको यो मानवीय सहृदयता हाम्रो समाजको सुन्दर शक्ति हो ।

नेपाल सरकार, स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी संस्था र सर्वसाधारण नागरिकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्धार, राहत र पुनःस्थापनामा जुटिरहेका छन् । तर विपत्ति ठूलो छ । आवश्यकता पनि ठूलो छ । रकम मात्र होइन, जनशक्ति, स्वास्थ्यसेवा, यातायात, मनोवैज्ञानिक सहयोग, सुरक्षित आवास, खाद्यान्न, औषधि र दीर्घकालीन पुनःस्थापना सबै चाहिन्छ । बाटाघाटा क्षतिग्रस्त हुँदा विडम्बना के हुन सक्छ भने सबैभन्दा बढी सहयोग चाहिने ठाउँ र व्यक्ति नै सहयोगबाट सबैभन्दा टाढा पर्न सक्छन् । कहिलेकाहीँ सहयोग गर्ने नियत अत्यन्त पवित्र हुँदाहुँदै पनि सूचना, समन्वय र पहुँचको अभावले राहत गलत ठाउँमा पुग्न सक्छ र वास्तविक आवश्यकतामा रहेका व्यक्ति छुट्न सक्छन् । त्यसैले विपत्तिमा सहयोगका लागि केवल राम्रो मन पर्याप्त हुँदैन अपितु राम्रो व्यवस्थापन र सही जानकारी पनि उत्तिकै आवश्यक हुन्छ ।

विपत्तिका बेला मानिसभित्रको करुणा जाग्छ। हामी सबै केही न केही गर्न चाहन्छौँ । कसैले पैसा दिन्छ, कसैले खाद्यान्न, कसैले कपडा, कसैले श्रम, कसैले आफ्नो सवारीसाधन र कसैले केवल एउटा सान्त्वनाको हात । तर यही भीडमा सहयोगलाई आफ्नो प्रचार, निजी स्वार्थ वा पारिवारिक फाइदाको माध्यम बनाउने केही मानिस पनि भेटिन सक्छन्। यस्तो सम्भावनालाई अस्वीकार गर्न मिल्दैन । तर एक–दुई स्वार्थी व्यक्तिको व्यवहारलाई आधार बनाएर सम्पूर्ण सहयोग अभियान र सहयोगी समाजमाथि अविश्वास गर्नु पनि न्याय हुँदैन । मेरो विश्वास छ – नेपाली समाजमा स्वार्थभन्दा सहयोग ठूलो छ, लोभभन्दा दान ठूलो छ र निर्दयताभन्दा करुणा धेरै व्यापक छ । केही कालो थोप्लाले सम्पूर्ण आकाशलाई कालो प्रमाणित गर्दैन ।

वैदिक नीतिपरम्परामा एउटा प्रसिद्ध सूत्र छ—सत्य बोल, तर सत्य बोल्ने नाममा अरूलाई अनावश्यक पीडा नदेऊ । विपत्ति सत्य हो । मृत्यु सत्य हो । विनाश सत्य हो । जनतालाई वास्तविक अवस्थाबारे जानकारी दिनु पनि आवश्यक छ । तर सत्य प्रसारण गर्नु र विभत्सता बेच्नु एउटै कुरा होइन । शवका नजिकका तस्बिर, क्षतविक्षत शरीर, रगत, मानिसको अन्तिम क्षण, आफन्तको अनियन्त्रित विलाप र उद्धारका अत्यन्त पीडादायी दृश्यलाई पटकपटक प्रसारण गर्नु “सत्य देखाउनु” मात्र होइन तर कहिलेकाहीँ त्यो अर्को मानिसको मनमा आघात पुर्‍याउने काम पनि हुन सक्छ ।

विपत्तिका दृश्यहरू निरन्तर हेरिरहँदा प्रत्यक्ष रूपमा घटनास्थलमा नभएका मानिसमा समेत डर, निद्राको समस्या, अत्यधिक चिन्ता, असहायता, बेचैनी र निराशा बढ्न सक्छ। बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धा र पहिले नै भावनात्मक रूपमा संवेदनशील व्यक्तिमा यसको प्रभाव अझ गहिरो हुन सक्छ । त्यसैले सामाजिक सञ्जालमा भाइरल हुने लोभमा विभत्स भिडियो र तस्बिर राख्नु सहयोग होइन । त्यसबाट केही लाइक, शेयर र कमेन्ट बढ्लान्, तर कसैको निद्रा हराउन सक्छ, कसैको डर बढ्न सक्छ र पीडित परिवारको गरिमा फेरि घाइते हुन सक्छ । पीडितको दुःख हाम्रो कन्टेन्ट होइन । कसैको मृत्यु हाम्रो सामाजिक सञ्जालको लोकप्रियता बढाउने सामग्री बन्नु हुँदैन ।

रसुवाको विपत्तिमा कतिपय मानिसले ज्यानबाहेक प्रायः सबै कुरा गुमाएका छन् । घर गयो, खेत गयो, कागजपत्र गयो, व्यवसाय गयो, पशुचौपाया गए, आफन्त गुमे र भविष्य कता जाने हो भन्ने आधारसमेत हरायो । यस्तो मान्छेलाई एउटा माइक्रोफोन अगाडि राखेर “तपाईंलाई अहिले कस्तो लागिरहेको छ?”, “आफन्त गुमाउँदा कस्तो अनुभव भइरहेको छ?”, “त्यो दृश्य देख्दा के भयो?” जस्ता प्रश्न गर्नु पत्रकारिता वा सहयोगको नाममा मानसिक घाउ कोट्याउनु हुन सक्छ । हामीले सोच्नुपर्छ – जसको आँखाअगाडि संसार भत्किएको छ, उसलाई आफ्नो पीडा प्रमाणित गर्न किन लगाउने?

उसलाई बोल्न मन छ भने सुनौँ । बोल्न मन छैन भने मौनतालाई सम्मान गरौँ । रोइरहेको छ भने रुन दिऔँ। क्रोधित छ भने उसको क्रोधलाई तुरुन्त “असभ्य” नठानौँ । तत्काल समाधान दिन नसके पनि उसको छेउमा शान्त भएर बस्न सकिन्छ । कहिलेकाहीँ विपत्तिमा सबैभन्दा ठूलो सहयोग एउटा वाक्य हुन्छ – “तपाईं एक्लै हुनुहुन्न, हामी तपाईंको साथमा छौँ ।”
यही वाक्य र “कठै बिचरा!” भन्ने वाक्यबीच ठूलो मनोवैज्ञानिक अन्तर छ । “कठै बिचरा”ले सहयोगीलाई माथि र पीडितलाई तल राख्छ । यसले असहायता, हीनता र दयाको पात्र भएको अनुभूति बढाउन सक्छ । तर “हामी सँगै छौँ” भन्ने वाक्यले समानताको सम्बन्ध बनाउँछ । यसले आशा दिन्छ, आत्मबल दिन्छ र मानिसलाई सम्झाउँछ – मेरो जीवनमा ठूलो दुर्घटना भएको छ, तर म एक्लो छैन । विपत्ति भोगेको व्यक्ति “बिचरा” होइन तर ऊ कठिन परिस्थितिसँग सङ्घर्ष गरिरहेको सम्मानयोग्य मानिस हो ।

पीडितहरूको सबैभन्दा ठूलो अपेक्षा स्वाभाविक रूपमा सरकारसँग हुन्छ । सरकार सबै नागरिकको साझा संरचना हो । सरकार कुनै अमूर्त देवता होइन अपितु हामीजस्तै मानिसले बनाएको र कानुन, संस्था तथा कर्मचारीमार्फत सञ्चालन हुने संयन्त्र हो । विपत्तिपछि नागरिकको अपेक्षा अत्यन्त ठूलो हुन सक्छ, तर सरकारी संयन्त्रको क्षमता, गति र पहुँच त्यो अपेक्षाअनुसार नहुन सक्छ । यही अन्तरले पीडितमा आक्रोश जन्माउन सक्छ । सबै गुमाएको मानिस रिसाउन सक्छ, चिच्याउन सक्छ, गुनासो गर्न सक्छ । दुःख कहिलेकाहीँ आँसु भएर निस्कन्छ, कहिलेकाहीँ मौनतामा बस्छ र कहिलेकाहीँ क्रोध बनेर विस्फोट हुन्छ ।
त्यसैले सरकारी अधिकारी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र राहतकर्मीहरूले पीडितको आक्रोशलाई व्यक्तिगत अपमान ठान्न हुँदैन । अभिभावकसँग सन्तानले गुनासो गरेझैँ नागरिकसँग सरकारलाई प्रश्न गर्ने, गुनासो गर्ने र सहयोग माग्ने अधिकार हुन्छ । यस्तो अवस्थामा सरकारी संयन्त्रले प्रतिवादभन्दा धैर्य, भाषणभन्दा सूचना र आश्वासनभन्दा यथार्थ कार्यलाई प्राथमिकता दिनुपर्छ । विपत्तिमा नागरिकको रिसलाई दबाउनु भन्दा उसको पीडा बुझ्नु सरकारको ठूलो परीक्षा हो ।

प्रत्यक्ष रूपमा विपत्तिमा सहयोग गर्न चाहनेका लागि मनोवैज्ञानिक प्राथमिक सहायता अर्थात् Psychological First Aid को अत्यन्त सरल र उपयोगी सूत्र छ – Look, Listen and Link अर्थात् हेर, सुन र जोड । “Look” को अर्थ तमासा हेर्नु होइन । घटनास्थल कति सुरक्षित छ, कसलाई तत्काल जीवनरक्षक सहयोग चाहिएको छ, बालबालिका, वृद्ध, गर्भवती, अपाङ्गता भएका व्यक्ति वा गम्भीर रूपमा घाइते को छन्, कसलाई सुरक्षित ठाउँमा सार्नुपर्ने हो – पहिला परिस्थिति बुझ्नु हो । आफैँ असुरक्षित भएर अरूलाई बचाउन दौडनु अर्को दुर्घटना निम्त्याउनु हो । राम्रो सहयोगीले सबैभन्दा पहिले जोखिम बुझ्छ ।
“Listen” को अर्थ पीडितलाई जबर्जस्ती बोलाउनु होइन । उसलाई बोल्न मन लाग्यो भने ध्यान दिएर सुन्नु हो । बीचमै आफ्नो कथा सुनाउन थाल्नु होइन । “मेरो जीवनमा पनि यस्तो भएको थियो” भनेर उसको पीडालाई आफूतिर तान्नु होइन । प्रश्नको वर्षा गर्नु होइन । शान्त रूपमा सुन्नु, उसको भावनालाई स्वीकार गर्नु र उसले चाहेको कुरा बुझ्नु हो । कहिलेकाहीँ सहयोगीको सबैभन्दा ठूलो सीप बोल्न जान्नु होइन, चुप लागेर सुन्न जान्नु हो ।

“Link” भनेको पीडितलाई आवश्यक सहयोगसँग जोड्नु हो । कसैलाई चिकित्सक चाहिएको हुन सक्छ, कसैलाई औषधि, कसैलाई सुरक्षित बास, कसैलाई परिवारसँग सम्पर्क, कसैलाई सरकारी राहतको जानकारी, कसैलाई कानुनी वा प्रशासनिक सहयोग र कसैलाई प्रशिक्षित मनोपरामर्शदाता । हामीले सबै समस्या आफैँ समाधान गर्न सक्दैनौँ । तर सही व्यक्तिलाई सही सेवासँग जोड्न सक्छौँ । यही वास्तविक सहयोग हो ।

त्यसैले केवल विपत्ति “हेर्न” घटनास्थल पुग्नु उचित होइन । कसैको दुःखलाई दृश्य सामग्री बनाउने, पीडितको कुरा सुन्न धैर्य नराख्ने, उपलब्ध सेवाबारे जानकारी नलिने र उद्धारकर्ताकै काममा बाधा पुग्ने गरी भीड बढाउने हो भने घरबाट गरिएको व्यवस्थित सहयोग धेरै उपयोगी हुन सक्छ । प्रत्यक्ष सहयोगमा जाने व्यक्तिले आफ्नो शारीरिक र मानसिक अवस्था पनि विचार गर्नुपर्छ। अत्यन्त तनावग्रस्त, निद्राविहीन वा भावनात्मक रूपमा अस्थिर महसुस भइरहेको छ भने आफूलाई जोखिममा राखेर घटनास्थल पुग्नुभन्दा अर्को प्रकारको सहयोग रोज्नु बुद्धिमानी हुन्छ । मानसिक स्वास्थ्यको औषधि सेवन गरिरहेको हुनु मात्र सहयोग गर्न अयोग्य हुनु होइन अपितु मुख्य प्रश्न व्यक्तिले त्यो समयमा आफूलाई स्थिर, सुरक्षित र जिम्मेवार राख्न सक्छ कि सक्दैन भन्ने हो ।

सबै सहयोगीले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ – मेरो उपस्थितिले पीडितको बोझ घटाइरहेको छ कि थपिरहेको छ? मेरो क्यामेराले? मेरो प्रश्नले? मेरो भाषाले? मेरो सामाजिक सञ्जालको पोस्टले? मेरो सहयोग दिने तरिकाले? यदि उत्तर स्पष्ट छैन भने पहिले रोकिएर सोच्नु नै सहयोग हो । विपत्ति आएपछि घर बनाउनु पर्छ, सडक बनाउनुपर्छ, पुल बनाउनुपर्छ, राहत दिनुपर्छ तर भत्किएको मन पनि सम्हाल्नुपर्छ । मानिस केवल पेट लिएर बाँच्दैन, मन लिएर पनि बाँच्छ। खाद्यान्नले केही दिनको भोक मेटाउँछ, सुरक्षित आवासले शरीर जोगाउँछ, तर सम्मान, साथ, आशा र विश्वासले जीवनतिर फर्किने शक्ति दिन्छ ।

त्यसैले रसुवाका पीडितलाई “कठै बिचरा” नभनौँ । उहाँहरू हाम्रो दयाका पात्र होइनन् अपितु हाम्रो साथ, सम्मान र सहयोगका अधिकारी हुन् । भनौँ – हामी सँगै छौँ । तपाईंको दुःख तपाईं एक्लैले बोक्नुपर्दैन । सहयोगको सबैभन्दा ठूलो रूप पैसा मात्र होइन; सचेतता पनि हो। करुणा मात्र होइन, जिम्मेवार करुणा हो। भावना मात्र होइन, विवेकसहितको भावना हो ।
यो लेख पढिसकेपछि तपाईंको सहयोगी मन अझै बलियो, सहृदयी र जिम्मेवार बन्यो भने यसको प्रयोजन पूरा हुनेछ । विपत्तिका बेला ठूलो स्वरमा बोल्नेभन्दा सही समयमा सही काम गर्ने मान्छे धेरै उपयोगी हुन्छ । सचेत व्यक्ति नै असल सहयोगी हो ।