ज्ञानेन्द्र शाहीको आग्रहः पाँच टनेलमा उद्धार बाँकी छ, जसरी पनि उद्धार गर्नुस्


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रमा रहेका सुरुङभित्र अझै नागरिक अलपत्र रहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँकी रहेको दाबी गरे ।

टनेलको मुख बन्द नभएको दाबी गर्दै उनले जुम्लाका लालवीर बुढा, रमेश बुढा, रामचन्द्र बुढालगायत ६ जना व्यक्ति टनेलभित्र करिब २०० मिटरबाट जीवितै बाहिर आएको बताए ।

उनले भने, ‘त्रिशूलीमा अहिले पनि मान्छे अलपत्र छन् टनेलभित्र । सेना भर्खरै उद्धार गरेको टनेल अपर त्रिशूली र लाङटाङ मात्र हो सात वटामा । सामाजिक सञ्जालमा सबै गरिसकेको भन्ने जुन हल्ला फैलाइएको जम्मा दुई वटा मात्र हो, पाँच वटा बाँकी छ । यो भाषण हैन, सरकारको कर्तव्य हो । जसरी पनि त्यो टनेलमा गइदिनुस्, म अपील गर्न चाहन्छु ।’

सांसदहरूसँग सेना परिचालन, बजेट तथा राज्यका स्रोत–साधन परिचालन गर्ने अधिकार नभएको भन्दै उनले उद्धारका लागि सरकार नै सक्रिय हुनुपर्ने बताए ।

उनले भने, ‘हामीसँग सेना परिचालन गर्ने अधिकार छैन । हामी सांसद हौँ, वडा अध्यक्ष बराबर पनि बजेट बनाउने अधिकार छैन । हामीसँग बजेट परिचालन गर्ने अधिकार छैन । राज्यको स्रोत–साधन परिचालन गर्ने अधिकार छैन । यो अधिकार यही संसदभित्रका मन्त्रीहरूसँग छ, त्यही भएर सरकारलाई उद्धार गरिदिनुस् भनेको हो ।’