हर्मुज तनावले व्यापारमा जोखिम


तेहरान। इरान र संयुक्त राज्य अमेरिकाबिच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी सेनाले राताभर इरानी लक्ष्यमा ‘धेरै भारी आक्रमण’ गरेको र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण गर्न तयार रहेको बताए । उनले हर्मुज जलघाँटीको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझावसमेत दिए । उक्त जलमार्ग अहिले अमेरिकी नियन्त्रणमा रहेको उनको दाबी भए पनि पछि आफ्नो भनाइ गम्भीर नभएको सङ्केत गरेका थिए ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका–इजरायलको आक्रमणपछि इरानले नयाँ रणनीति अपनाएको बताएका छन् । उनले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्दै अमेरिकी आधारलाई ध्वस्त पार्ने चेतावनी दिए ।

यसैबिच, अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गरी प्रतिबन्ध विस्तार गर्ने योजना रहेको र त्यसबाट अधिकतम आर्थिक दबाब सिर्जना गरिने बताएका छन् । मङ्गलबार इरानमा अमेरिकी बमबारी भएपछि इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाएको छ ।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेको स्थानमा भएको अमेरिकी आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै आक्रोश व्यक्त गरे । अमेरिकी सेनाले घटनाबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले अमेरिकी सेनाले नागरिकलाई कहिल्यै निशाना नबनाउने बताए ।

पछिल्लो चरणको लडाइँ आइतबार अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेपछि सुरु भएको हो । त्यसपछि इरानले क्षेत्रका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको छ । इरानी आक्रमणका क्रममा दुई तेल ट्याङ्करमा समेत प्रहार भएको र तीमध्ये एउटामा दुई फिलिपिनो नाविकको मृत्यु भएको साउदी ढुवानी कम्पनीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुजमा समुद्री खानी राख्ने इरानी प्रयास र जोर्डनस्थित अमेरिकी आधारमा भएको क्षेप्यास्त्र आक्रमणको जवाफमा अमेरिकी कारबाही गरिएको बताए । हर्मुज जलघाँटीबाट यसअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने गरेकाले लामो अवरोधले विश्व ऊर्जा बजार र व्यापारमा थप दबाब पार्ने चिन्ता बढेको छ ।

इरान र अमेरिका–इजरायलबीचको युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । हर्मुजमा व्यापारिक जहाजमाथि भएका आक्रमणपछि नाजुक युद्धविराम भङ्ग भएको थियो ।

यसैबिच, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले सेप्टेम्बरको मध्यदेखि सुरु हुने यहुदीहरूको उच्च धार्मिक पर्वका समयमा आक्रमण गरे इजरायलले ‘ठूलो बलका साथ’ जवाफ दिने चेतावनी दिएका छन् ।

पछिल्लो सैन्य टकरावले युद्धको दायरा विस्तार हुनुका साथै हर्मुज जलघाँटीमा व्यापारिक जहाजको आवागमन, विश्व तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा थप अस्थिरता निम्त्याउने चिन्ता बढाएको छ ।