‘चुकिसकियो, अब गल्ती ढाकछोप होइन उद्धारमा जुटौँ’ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई गल्ती ढाकछोप गर्न अर्को गल्ती नगर्न आग्रह गरेका छन् ।

भोटेकोसी बाढी प्रभावित क्षेत्रको भ्रमण गरी फर्केपछि सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले एउटा गल्ती ढाक्नलाई अर्को गल्ती नगर्न सरकारलाई आग्रह गरेका हुन् । उनले सुरुङमा फसेकाहरुको उद्धार गर्न ढिलाइ भएको भन्दै अब गल्ती नगरी छिटो उद्धारको काम अघि बढाउन सरकारलाई आग्रह गरे । उनले सुरुङमा फसेका परिवारका सदस्यहरूले लगातार फोन आफूलाई आइरहेको बताए ।

उनले भने, ‘हामीले जुन बेलामा बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौँ, समयमा सहयोग माग्ने काम भएन, चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्ने भन्दा पनि जे गर्न सकिन्छ वेस्ट गर्ने कोसिस गर्नुपर्छ। एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नुहोला।’

उनले राहत वितरणमा आवश्यकता अनुसारको व्यवस्थापन मिलाउन आग्रह गरेका छन् । विपद प्रभावित क्षेत्रमा भेटेको एउटा अनाथ बालकको कथा पनि सभापति थापाले भिडियोमा सुनाए-‘बालकले बाटो कहिले बन्ने र बाबा ममीकोबारेमा सोधेको कुरा यसरी प्रस्तुत गरेका छन्, ‘जसले बाटो कहिले बन्छ ? भनेर सोधिरहेको थियो । हामीले बाटो बिग्रिएकाले ममी–बाबा आउन नसक्नुभएको, बाटो बनेपछि आउनुहुन्छ भनेर उनलाई सम्झाएका छौँ, जबकी उनका आमा–बुबा र हजुरआमा सबै बाढीमा बितेका छन् ।’

सभापति थापाले संघीय सरकारलाई तीनै तहको सरकारबीच समन्वय गरी नेतृत्व लिन आग्रह गरे ।