ज्ञानेन्द्र शाहीको सुझावः विपदको बेला ज्यानको परवाह नगरी खटिने सुरक्षाकर्मीको तलब बढाउनुस्


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताए । उनले अन्तरराष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह गरे ।

राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले यसमा सरकार अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तो अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गर्नुपर्ने बताए । सुरुङमा अहिले पनि जिवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाहीले विज्ञ र जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारको जुट्न सुझाव दिए ।
शाहीले विपदको बेला ज्यानको परवाह नगरी खटिने सुरक्षाकर्मीको तलब बढाउन आग्रह गरे । उनले भने, ’ज्यानको परवाह नगरी नागरिकको सुरक्षाका लागि अग्रपंक्तिमा खटिन्छन्। आफ्नो जीवनलाई आहुति दिएर विना अक्सिजन सुरूङमार्गमा घुसिरहेका छन्। सूचना दिँदा दिँदै बेपत्ता हुनुभएको छ। मुखले स्याबासी नदिनुस्, आजै मन्त्रिपरिषदको बैठक बसाल्नुस्, नेपालका सुरक्षाकर्मीहरूको तलब वृद्धि गर्नुस् ।’

उनले यति गरे मात्रै सरकारले सुरक्षाकर्मीलाई स्याबासी दिएको ठहर्ने बताए । उनले भने, बढाउनुस् तलब, यति गर्नुभयो भने स्याबासी भइहाल्यो नी, मुखले र भिडिओमा स्याबासी गर्नुपर्दैन ।’