सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र उपचारको प्रवन्ध मिलाएको प्रधानमन्त्रीको दाबी


काठमाडौँ प्रधानमन्त्री बालेन साहले भोटेकोसीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘¥यापिड एक्सन टिम’ मार्फत सूचना सङ्गठन, समन्वय र अनुगमन सुरु गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरिएको बताए । “राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ । अन्य सबै ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राख्यौँ”, उनले भने ।

सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रसलगायतको सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटाएको जानकारी गराउँदै उनले आपतकालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लबलगायतसँग समन्वय सुरु गरिएको उल्लेख गरे ।

बाढी आएकै दिन यही भदौ १० गते दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ लागेको र त्यसयता राज्यका सम्पूर्ण संयन्त्रहरूबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइएको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरिएको र प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको मात्रै चिन्ता नभई घरबारबिहिन भएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी रहेको बताए ।

विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको बताउँदै प्रधानमन्त्री साहले प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिएको र खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लगिएको उल्लेख गरे ।