फ्रान्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत–इयु सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित बुधबारदेखि दुई दिने बेलायत भ्रमण सुरु गरेका छन्। उनले ऐतिहासिक बेयक्स टेपेस्ट्रीको प्रदर्शनी उद्घाटन गरेका छन् भने बिहीबार नव नियुक्त बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँग द्विपक्षीय वार्ता गर्नेछन्।
बर्नह्याम प्रधानमन्त्री बनेपछि उनीसँग भेट गर्ने म्याक्रोन पहिलो इयु नेता बनेका छन्। दुई नेताबीचको वार्तामा बेलायत–इयु सम्बन्ध, आर्थिक सहकार्य, आप्रवासन तथा युक्रेनमा सहयोग प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ। बर्नह्यामले बेलायतको सुस्त आर्थिक वृद्धिलाई गति दिन र इङ्लिस च्यानल हुँदै साना डुङ्गामा बेलायत प्रवेश गर्ने आप्रवासी रोक्न फ्रान्ससँग सहकार्य बढाउन चाहेका छन्।
भ्रमणको सांस्कृतिक पक्षका रूपमा करिब ९५० वर्ष पुरानो बेयक्स टेपेस्ट्री लन्डनमा प्रदर्शनमा राखिएको छ। नार्मन्डीका विलियम द कन्कररले इङ्गल्यान्ड विजय गरेको इतिहास चित्रण गर्ने ११औं शताब्दीको उक्त कलाकृति नौ शताब्दी भन्दा लामो समयपछि पहिलो पटक फ्रान्स बाहिर प्रदर्शन गरिएको हो। म्याक्रोनले टेपेस्ट्रीलाई बेलायत पठाउने पहलमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
म्याक्रोन र पूर्व प्रधानमन्त्री कीर स्टारमरबीच युक्रेन र मध्यपूर्वलगायत विषयमा घनिष्ठ सहकार्य रहँदै आएको थियो। स्टारमर, म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जबीचको ‘ई–३’ सहकार्यलाई बर्नह्यामले पनि निरन्तरता दिन चाहेका छन्। यद्यपि युरोपेली राजनीतिक समीकरणमा आउन सक्ने परिवर्तनले यसमा चुनौती थप्न सक्ने देखिएको छ।
किङ्ग्स कलेज लन्डनका प्राध्यापक आनन्द मेननले युक्रेन जस्ता विषयमा बेलायत र फ्रान्सबीच राम्रो सहकार्य भए पनि आर्थिक तथा इयु सम्बन्धका महत्त्वपूर्ण विषयमा ठोस प्रगति गर्न कठिन रहेको बताएका छन्। उनका अनुसार मैत्रीपूर्ण सम्बन्धभन्दा आर्थिक तथा राजनीतिक विषयमा हुने वास्तविक सहमति महत्त्वपूर्ण हुनेछ।
म्याक्रोनले अमेरिकामाथिको निर्भरता घटाउँदै बलियो युरोपेली सार्वभौमिकताको पक्षमा वकालत गर्दै आएका छन्। त्यस क्रममा ब्रेक्सिटपछि पनि बेलायतलाई युरोपको सुरक्षा तथा रणनीतिक सहकार्यमा महत्त्वपूर्ण साझेदारका रूपमा राख्ने उनको प्रयास छ।
बर्नह्यामले प्रधानमन्त्री बनेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई डाउनिङ स्ट्रीटमा स्वागत गरेका छन् र पहिलो विदेश भ्रमणमा किएभ पुगेका थिए। त्यस क्रममा उनले इयु काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टासँग भेट गरी बेलायत इयुको नजिक पुग्न थप साहसिक कदम चाल्नुपर्ने बताएको डाउनिङ स्ट्रीटले जनाएको छ।
म्याक्रोनले बेलायती राजा चार्ल्स तृतीयसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ। बिहीबार हुने म्याक्रोन–बर्नह्याम वार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिए पनि आर्थिक सहकार्य र बेलायत–इयु सम्बन्धमा हुने ठोस प्रगतिलाई भ्रमणको मुख्य उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया