भोटेकोशी बाढीपीडितका लागि विराट ग्रुपको ७५ लाख सहयोग, पुनः स्थापनामा पनि सक्रिय हुने


विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विराट ग्रुपले ७५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ।

विगत लामाे समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको विराट ग्रुपले आर्थिक सहयोगसँगै बाढीबाट क्षतिग्रस्त तथा बगाएका विद्यालय, स्वास्थ्य संस्था, बाटाेघाटाे र अन्य आवश्यक पूर्वाधारको पुनःस्थापनामा समेत सक्रिय रूपमा सहभागी हुने जनाएको छ।

ग्रुपअन्तर्गतको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले यसअघि नै बाढीबाट प्रभावित घाइतेका लागि उपलब्ध स्वास्थ्य सेवाअन्तर्गत आवश्यक उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको छ। आवश्यक परे काठमाडौंलगायत अन्य जिल्लाबाट समेत घाइतेलाई सुरक्षित रूपमा ल्याई उपचार गर्न अस्पतालले आफ्नो उपलब्ध जनशक्ति, पूर्वाधार र स्वास्थ्य क्षमता परिचालन गर्ने जनाएको छ।

विराट ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विपद्को समयमा राहत र पुनःस्थापनाको दायित्व सरकारको मात्र नभई समाजका सबै पक्षको साझा जिम्मेवारी भएको बताए। ‘यस्तो विपत्तिको समयमा सरकारको स्राेत-साधन मात्रै अपुग रहने हुँदा आफूले सक्ने ठाउँबाट सबैले योगदान गर्नुपर्छ,’ उनले भने, ‘विराट ग्रुप आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उपचार र पुनःस्थापनाका कार्यमा सहयाेग तथा सहकार्यका लागि प्रतिबद्ध छ।’

बाढीले मानवीय क्षतिसँगै शिक्षा, स्वास्थ्य तथा स्थानीय पूर्वाधारमा समेत गम्भीर असर पुर्‍याएको अवस्थामा तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने कार्कीको भनाइ छ। उनले विपद्बाट प्रभावित नागरिकको जीवन सहज बनाउन सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रहसमेत गरेका छन् ।