अमेरिकी आक्रमणमा विवाह समारोहमा चारको मृत्यु, इरानद्वारा जवाफी हमला


तेहरान । अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेपछि इरानले इराक, जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक क्षेत्रलाई लक्षित गरी जवाफी हमला गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक पानीजहाजमाथि हालै आक्रमणको प्रयास गरेपछि अमेरिकी सेनाले आईआरजीसीका विभिन्न लक्ष्यमा कारबाही गरेको हो ।

अमेरिकी आक्रमणका क्रममा दक्षिणी इरानको सिरिक क्षेत्रमा विवाह समारोह भइरहेको एक घरमा क्षेप्यास्त्र खस्दा एक बालकसहित चार जनाको मृत्यु भएको इरानी रेड क्रिसेन्टले जनाएको छ।

घटनामा ५० भन्दा बढी घाइते भएका छन्। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार सिरिक आक्रमणको जवाफमा इरानले जोर्डनको अकाबास्थित अमेरिकी मरीन बेसलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

जोर्डनका सशस्त्र बलका अनुसार इरानबाट प्रहार गरिएका १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १० वटा आकाशमै नष्ट पारिएको थियो भने तीन वटा दुर्गम क्षेत्रमा खसेका थिए।

आक्रमणबाट मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।
यसैबीच, कुवेतको सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमणपछि आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाएको छ। बहराइनमा पनि इरानी आक्रमणपछि कैयौँ विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जवाफी कारबाही गरेमा अमेरिकाले अझ ‘कडा र उच्च स्तर’मा आक्रमण गर्ने चेतावनी दिएका थिए। सेन्टकमका अनुसार अमेरिकी सेनाले मंगलबार दिउँसोदेखि आईआरजीसीका लक्ष्यमा आक्रमण सुरु गरेको थियो। ती कारबाही बुधबार बिहानसम्म जारी रहेको जनाइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिकमा मृत्यु हुनेमध्ये चार वर्षीय बालकसमेत छन्। चाबहार, कोनाराक र जिरोफ्टका क्षेत्रमा समेत आक्रमण भएको तथा क्युश्म द्वीप र बन्दर अब्बासमा विस्फोटका आवाज सुनिएको विवरण सार्वजनिक भएका छन्।

अमेरिकी नौसेनाका क्याप्टेन टिम हकिन्सले सिरिक घटनाबारे इरानी सञ्चारमाध्यमका रिपोर्टबारे आफूहरू जानकार रहेको बताएका छन्। उनले अमेरिकी सेनाले सर्वसाधारणलाई निशाना नबनाउने दाबी गरेका छन्।