-अर्जुननरसिंह केसी ।
सामाजिक सञ्जाल हाम्रो समाजको चित्र हो । तर यो चित्र अहिले अत्यन्त कुरुप बन्दैछ । यसमा हाम्रो सभ्यता, संस्कृति, मर्यादा र संस्कारको प्रतिबिम्ब होइन, बरु हाम्रो अधोगति, क्रूरता र नैतिक पतनको कुरूप अनुहार झल्किरहेको देखिन्छ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार हो। प्रश्न गर्ने, असहमति जनाउने र आफ्नो विचार राख्ने अधिकार शाश्वत र नैसर्गिक हो । तर यो अधिकारको आडमा सामाजिक सञ्जालमा बढ्दो अतिनकारात्मक, अपमानजनक, गालीगलौज र चरित्रहत्या अब अभिव्यक्ति होइन, बर्बरता बन्दै छ ।
यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई होइन, मानवतालाई नै धज्जी उडाएको छ।विचारको विविधतालाई सम्मान गर्नुको सट्टा अरूलाई नीच देखाउने, घृणा फैलाउने र अमानवीय टिप्पणी गर्ने प्रवृत्तिले हाम्रो सहिष्णुता र सुसंस्कारलाई क्रमशः मारेको छ। ‘गाली गर्नु’ र ‘प्रश्न गर्नु’ बीचको फरक भुल्दा सामाजिक सद्भाव मात्र बिग्रिएको छैन, मानिसको मानसिक स्वास्थ्य र मर्यादामा समेत गम्भीर चोट परेको छ।यो कुनै दलविशेष सगको आग्रह, पूर्वाग्रह वा कसैको समर्थकले गरेको कुरा मात्र होइन । यो समग्र समाज कता जाँदैछ भन्ने गम्भीर र जटिल प्रश्न हो ।
लोकतन्त्रले उत्तरदायी स्वतन्त्रता माग्छ, लज्जाहीन स्वेच्छाचारिता होइन । असहमति दर्ता गर्दा पनि तर्क, तथ्य र शिष्टाचारको सीमा नाघ्न हुँदैन। रचनात्मक आलोचनाले समाज सुधार्छ। विषालु र अति नकारात्मक टिप्पणीले सभ्यता नै ध्वस्त पार्छ । आफ्नो अधिकार प्रयोग गर्दा अरूको मर्यादा र आफ्नै संस्कारको रक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हो।समाज, संस्था, राजनीतिक दल र प्रत्येक व्यक्ति यस विषयमा गम्भीर हुनु जरुरी छ। अन्यथा हामी आफैं आफ्नो मानवता र सभ्यता गुमाउँदै जानेछौं । सामाजिक सञ्जालमा देखिएका केही अंश प्रस्तुत गर्दछु ।
एकजना महिलाले रुँदै भनेकी छिन्, ‘मेरो श्रीमान् सुरुङमा फस्नुभएको छ, सरकार सहयोग गर्नुहोस्।” त्यो भिडियोमुनि कसैको कमेन्ट छ-‘तँलाई तेरो पोइसँग सुत्न हतार भयो?’ यो पढ्दा र हेर्दा दिक्क मात्र होइन, गहिरो लज्जा र चिन्ता लाग्छ। पीडितको आँसुमाथि यस्तो टिप्पणी गर्ने मानसिकता कुन सभ्यताको उपज हो ? हामी कहाँ पुग्दैछौं ? यो टिप्पणी केवल एक व्यक्तिको अभद्रता होइन । यो हाम्रो सामूहिक नैतिक पतनको प्रमाण हो। जब पीडामा रोइरहेकी महिलालाई समेत यस्तो भाषामा सम्बोधन गरिन्छ, तब बुझ्नुपर्छ—हामी सभ्यताको बाटो छाडेर बर्बरतातिर उन्मुख भएका छौं । अहिले नै सचेत नभए भोलि यो ऐना अझ फोहोर हुनेछ। र त्यस ऐनामा हामी आफैंलाई चिन्न पनि छाड्नेछौँ ।

प्रतिक्रिया