दीपकराज रेग्मी ।
आजभन्दा करिब २५ वर्षअघि उपचारको सिलसिलामा भारतको चेन्नई पुगेको थिएँ । त्यही क्रममा केरालाबाट आएका एकजना साथीसँग भेट भयो । कुराकानीकै क्रममा उहाँले भन्नुभयो –’केरालामा संसारकै सबैभन्दा ठूलो विष्णुको मूर्ति भएको एउटा अद्भुत मन्दिर छ ।’ त्यतिबेला त्यो कुरा सामान्य जस्तो लागे पनि, आज यति वर्षपछि फेरि त्यो प्रसंग सम्झना आयो । आखिर कस्तो रहेछ त्यो मन्दिर? कहाँ रहेछ ? किन त्यति विशेष रहेछ ? भन्ने जिज्ञासाले खोज्न थालेँ। अध्ययन गर्दै जाँदा मन्दिरको इतिहास, वास्तुकला, धार्मिक परम्परा र भूमिगत खजानाको कथा निकै रहस्यमय र रोचक लाग्यो। तर सबैभन्दा बढी मन छोएको कुरा थियो – यसको सम्बन्ध हाम्रो आफ्नै गण्डकी क्षेत्रसँग जोडिएको रहेछ । मन्दिर रहेछ-केरलाको तिरुवनन्तपुरमस्थित श्री पद्मनाभस्वामी मन्दिर । संसारकै सबैभन्दा धनी मन्दिर । मन्दिरमा करिब १८ फिट लामो भगवान विष्णुको अद्भुत शयनमूर्ति विराजमान छ । यसको सम्पूर्ण स्वरूप एकैपटक दर्शन गर्न सकिँदैन, तीनवटा द्वारबाट क्रमशः शिर, नाभि र चरणको दर्शन गरिन्छ ।
अनन्त शेषनागमाथि शयन गरिरहनुभएका भगवान् पद्मनाभको शिरमाथि पाँच फणा फैलाएको शेषनाग छ । दाहिने हात शिवलिङ्गमाथि राखिएको छ भने छेउमा श्रीदेवी – लक्ष्मी र भूदेवी विराजमान छन् । नाभिबाट निस्किएको कमलमा ब्रह्माको स्वरूप देखिन्छ । यसरी एउटै दिव्य स्वरूपमा विष्णु, शिव, लक्ष्मी, भूदेवी र ब्रह्माको प्रतीकात्मक सम्बन्ध देखिन्छ । मूर्ति कटुशर्करा योगम् (Katusarkara Yogam) नामक विशेष आयुर्वेदिक मिश्रणबाट निर्मित/संरक्षित मानिन्छ। यसमा नेपालको गण्डकी नदीबाट ल्याइएका हजारौँ शालिग्राम-परम्परागत विवरणअनुसार १२,००८- प्रयोग भएको उल्लेख छ।

१८औँ शताब्दीका त्रावणकोरका महाराजा मार्तण्ड वर्माको समयसँग (ई१७०६–१७५८) जोडिएको यो प्रसंगले नेपालको गण्डकीलाई दक्षिण भारतको महान् वैष्णव परम्परासँग जोड्छ । अझ रोचक कुरा, गण्डकीबाट ल्याइएका शालिग्रामसँग सम्बन्धित स्मृतिमा पशुपतिनाथमा विशेष धार्मिक अनुष्ठान गरिने गरेको विवरणसमेत पाइन्छ । तर पद्मनाभस्वामीको रहस्य यतिमै समाप्त हुँदैन । सन् २०११ मा भारतको सर्वोच्च अदालतको आदेशपछि मन्दिरका भूमिगत भण्डारहरूको सूचीकरण सुरु भयो । छ भण्डार कक्ष मध्ये पाँच कक्ष खोल्दा सुन, रत्न, मुकुट, मूर्ति, सिक्का तथा ऐतिहासिक सम्पत्तिको विशाल भण्डार भेटियो, जसको प्रारम्भिक अनुमानित मूल्य करिब १.२ लाख करोड भारतीय रुपैयाँ (उन्नाइस खर्ब नेपाली रुपैयाँ) भनिएको छ । तर बाकि एउटा भण्डार को विषयमा भने धार्मिक आस्था, सुरक्षा र कानुनी संवेदनशीलता रहेकाले मन्दिरको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्य अझै निश्चित छैन।यो भण्डार अझै निकै महत्वपूर्ण मानिएको छ ।
आज २५ वर्षअघिको त्यो सानो कुराकानी सम्झिँदा लाग्छ– त्यो साथीले त्यतिबेला भनेको ‘अद्भुत विष्णु मन्दिर’ वास्तवमा एउटा मन्दिर मात्र रहेनछ, त्यो त इतिहास, आस्था, रहस्य र हाम्रो आफ्नै गण्डकीसँग जोडिएको एउटा विशाल सांस्कृतिक कथा रहेछ । यही कथा नेपालको धार्मिक पर्यटनको सुनौलो सम्भावना बन्न सक्छ । कालीगण्डकी-शालिग्राम– मुक्तिनाथ–पशुपतिनाथलाई पद्मनाभस्वामीसँग जोडेर एउटा अन्तर्राष्ट्रिय आध्यात्मिक तथा सांस्कृतिक पर्यटन सर्किटको रूपमा प्रस्तुत गर्न सकिन्छ। कल्पना गरौँ–हिमालयको काखमा गण्डकीले जन्माएको शालिग्राम हजारौं किलोमिटर यात्रा गर्दै दक्षिण भारतको पद्मनाभस्वामीको गर्भगृहसम्म पुग्यो । आज त्यही मन्दिर संसारकै चर्चित धार्मिक सम्पदामध्ये एक छ ।

यही कथा नेपालको पर्यटनको नयाँ सम्भावना बन्न सक्छ । हामीले कालीगण्डकी, शालिग्राम, मुक्तिनाथ र पशुपतिनाथलाई केवल स्थानीय तीर्थस्थलका रूपमा होइन, दक्षिण भारतसम्म फैलिएको साझा हिन्दू सभ्यताको अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सर्किटका रूपमा प्रस्तुत गर्न सक्छौँ। पद्मनाभस्वामीको भूमिगत खजानाले संसारलाई आकर्षित गर्यो; तर त्यसको गर्भगृहमा रहेको गण्डकीको शालिग्रामले नेपालतर्फ फर्केर एउटा प्रश्न गरिरहेको छ–’मेरो कथा विश्वलाई सुनाउन नेपाल कहिले तयार हुन्छ?’ खजाना अझै पूर्ण खुलेको छैन, तर गण्डकीको कथा खुला छ। अब त्यस कथालाई विश्व पर्यटनको ढोका खोल्ने चाबी बनाउने कि ? गण्डकी केवल नदी होइन, शालिग्राम केवल शिला होइन, यी नेपालले विश्वलाई सुनाउन बाँकी रहेको सभ्यता, आस्था र पर्यटनको अमूल्य कथा हुन् । अब आवश्यकता छ– यस इतिहासलाई अनुसन्धान, अभिलेखीकरण, संरक्षण रपर्यटनसँग जोडेर विश्वसामु प्रस्तुत गर्ने ।

प्रतिक्रिया