काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको विशेष (स्पेसल) परीक्षाको नतिजाले नेपालको चिकित्सा शिक्षाको गुणस्तर र विश्वसनीयतालाई पुनः पुष्टि गरेको छ। नेपाल तथा विदेशका विभिन्न शैक्षिक संस्थाबाट चिकित्सा शिक्षा अध्ययन गरेका परीक्षार्थी सहभागी उक्त परीक्षामा समग्र ९३.४८ प्रतिशत उत्तीर्ण दर कायम भएको छ। विशेषगरी नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको ९८.३७ प्रतिशत उत्तीर्ण नतिजाले देशभित्रको चिकित्सा शिक्षाको स्तर उत्साहजनक रहेको संकेत गरेको छ।
काउन्सिलले श्रावण ७ र ८ गते सञ्चालन भएको परीक्षाको नतिजा २२ गते शुक्रवार सार्वजनिक गरेको छ । जसअनुसार परीक्षामा कुल १,०१३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ९४७ जना उत्तीर्ण तथा ६५ जना अनुत्तीर्ण भएका छन्। नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका ९१९ जना परीक्षार्थीमध्ये ९०४ जना उत्तीर्ण भएका छन् भने १५ जना मात्र अनुत्तीर्ण भएका छन्। यस आधारमा नेपालका मेडिकल कलेजको उत्तीर्ण प्रतिशत ९८.३७ पुगेको छ, जुन समग्र नतिजाभन्दा उल्लेखनीय रूपमा उच्च हो।
विदेशका विभिन्न मुलुकबाट अध्ययन गरेका परीक्षार्थीहरूको नतिजा तुलना गर्दा पनि नेपालका मेडिकल कलेजको प्रदर्शन निकै प्रभावशाली देखिएको छ। भारतबाट अध्ययन गरेका १७ जनामध्ये १३ जना उत्तीर्ण भई ७६.४७ प्रतिशत नतिजा हासिल भएको छ। चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना मात्र उत्तीर्ण हुँदा २१.६२ प्रतिशत उत्तीर्ण दर रहेको छ। इजिप्टबाट १९ जनामध्ये ८ जना उत्तीर्ण भई ४२.११ प्रतिशत, किर्गिस्तानबाट ५ जनामध्ये २ जना उत्तीर्ण भई ४० प्रतिशत तथा फिलिपिन्सबाट ५ जनामध्ये २ जना उत्तीर्ण भई ४० प्रतिशत नतिजा प्राप्त भएको छ।
संख्यात्मक रूपमा सहभागी कम भएका केही मुलुकका परीक्षार्थीले शतप्रतिशत नतिजा हासिल गरे पनि सहभागी सङ्ख्या न्यून भएकाले समग्र मूल्याङ्कनमा नेपालका मेडिकल कलेजको प्रदर्शन अझ अर्थपूर्ण देखिन्छ। ठूलो सङ्ख्यामा विद्यार्थी सहभागी भएर पनि करिब शतप्रतिशत नतिजा हासिल गर्नु नेपालका चिकित्सा शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर, व्यावहारिक प्रशिक्षण र प्रभावकारी शिक्षण प्रणालीको सूचकका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार नेपालका शिक्षण अस्पतालमा विद्यार्थीले अध्ययनकै क्रममा विविध प्रकृतिका बिरामीसँग प्रत्यक्ष उपचार अभ्यास गर्ने अवसर पाउँछन्। अनुभवी प्राध्यापक, पर्याप्त क्लिनिकल एक्सपोजर, आधुनिक पूर्वाधार तथा निरन्तर मूल्याङ्कन प्रणालीले विद्यार्थीको व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यही कारण नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका चिकित्सकहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।
पछिल्ला वर्षहरूमा नेपाललाई दक्षिण एशियाको सम्भावित चिकित्सा शिक्षा केन्द्रका रूपमा स्थापित गर्ने बहस चलिरहेका बेला नेपाल मेडिकल काउन्सिलको यो नतिजाले त्यस सम्भावनालाई थप बल दिएको छ। गुणस्तरीय शिक्षा, व्यावहारिक प्रशिक्षण, अन्तर्राष्ट्रिय मापदण्डअनुकूल शैक्षिक वातावरण र उत्कृष्ट परीक्षा नतिजाले नेपालका मेडिकल कलेजप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चिकित्सा शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस्ता नतिजाले नेपालभित्र अध्ययन गर्न चाहने विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै विदेशी विद्यार्थी आकर्षित गर्ने आधार पनि सुदृढ बनाउँछन्। नीतिगत स्थिरता, अन्तर्राष्ट्रिय प्रत्यायन र गुणस्तर सुधारलाई निरन्तरता दिन सकिए नेपालले चिकित्सा शिक्षालाई राष्ट्रिय अर्थतन्त्र, सेवा–निर्यात तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया