काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा ढंग नपुगेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले सरकारको ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको बताएका हुन् ।
उनले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन गर्दा उपलब्धि हासिल हुनुपर्ने बताए । उनले भने, ‘इन्ट्रिगिटीमा कुनै शंका छैन । इन्टेन्सनमा पनि प्रश्न छैन । तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । त्यो स्वीकार गर्नुपर्छ ।’
उनले प्रधानमन्त्रीप्रति लक्षित गर्दै आफूलाई थाहा नभएको कुरा अरुबाट सिक्नुपर्ने बताए । उनले भने,’मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ । त्यो कुरा सिक्नुपर्दछ ।’
उनले सुनसरी, सिरहालगायतका जिल्लामा अहिले केही शान्ति देखिएपनि समस्याको समाधान भने भइनसकेको बताए । उनले भने, ‘ सुनसरी, सिरहा जिल्लामा आगो बल्यो । जसोतसो निभाउन सक्यौँ । म सरकारलाई यहीबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन ।’
प्रधानमन्त्रीप्रति आक्रोशित देखिएका उनले गाडीको मात्र नभई कालो चश्मा खोल्न सुझाव दिए । उनले भने, ‘जनताबाट निर्वाचित नेता जनतासँग कनेक्टेड हुनुपर्छ । जनताबाट टाढिनेको काम छैन । हामीले गाडीको कालो सिसा त निकाल्यौँ, अब कालो चश्मा पनि निकाल्नुपर्छ ।’
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा जाँच गर्ने तर विमानस्थलमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी व्यवहार हुँदै आएको बताए । उनले सरकारको व्यवहारका कारण निजी क्षेत्र अहिले त्रसित रहेको बताए ।

प्रतिक्रिया