निजी मेडिकल कलेज सञ्चालकहरूको एकस्वरः इन्टर्न चिकित्सकको पारिश्रमिक बढाउन असम्भव


काठमाडौँ । निजी मेडिकल कलेज सञ्चालकहरूले इन्टर्न चिकित्सकको पारिश्रमिक बढाउन नसक्ने बताएका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले विज्ञप्ति जारी गरी इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउन नसक्ने बताएको हो ।
इन्टर्न चिकित्सकलाई कर्मचारी वा श्रमिकको रूपमा व्याख्या गर्न नमिल्ने भन्दै एसोसिएसनले भनेको छ ‘उनीहरू अझै विश्वविद्यालयको अध्ययनक्रम पूरा गरिरहेका विद्यार्थी भएकाले स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकसँग तुलना गर्न मिल्दैन ।’

एसोसिएसनले इन्टर्न चिकित्सकले आफूलाई श्रमिकका रूपमा परिभाषित गर्ने हो भने श्रम खरिद–बिक्रीको सम्बन्ध पनि स्वीकार गर्नुपर्ने बताएको छ ।

एसोसिएसनले अहिले ३२ हजार रुपैयाँ भत्ता माग गरिएको भएपनि भविष्यमा ५० हजार वा एक लाख रुपैयाँसम्मको माग पनि आउन सक्ने उल्लेख गर्दै स्रोत सुनिश्चित नभएसम्म यथास्थितिमा यस्तो माग पूरा गर्न सम्भव नरहेको जनाएको छ ।

एसोसिएसनले आन्दोलन र टकरावले विद्यार्थीको भविष्य उज्ज्वल नबन्ने भन्दै सकेसम्म छिटो इन्टर्नसिप सकेर चिकित्सकीय करियरमा अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरेको छ। पारिश्रमिक बढाउनुपर्ने माग राख्दै एमबीबीएस अध्ययनरत डिल्ली हरिजन तीन दिनदेखि अनसनमा छन् ।