काठमाडौँ । राष्ट्रियसभाको बैठकमा प्रश्नोत्तरमा सहभागी भएका गृहमन्त्री सुदन गुरुङले प्रश्न सोध्ने सांसदलाई उल्टै प्रश्न गरेका छन् । बिहीबारको बैठकमा गृहमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची थियो ।
त्यसक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्रीलाई निर्मला पन्त हत्या घटनाकाबारेमा प्रश्न गरेका थिए । तर गृहमन्त्रीले उत्तर दिनको साटो उल्दै सांसद विश्वकर्मालाई नै प्रश्न सोधे । गृहमन्त्रीको प्रश्न थियो, ‘माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ । अहिलेको सरकारलाई यो भारी नबोकाउनुस् । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको ?’
गृहमन्त्रीले यो घटना एकदमै सेन्सिटिभ भएको भन्दै बारम्बार यो विषय कोट्याएर निर्मला पन्तकी आमाको घाउमा नुन चुक नछर्किन आग्रह गरे ।
पुरक प्रश्न सोध्नका लागि दिएको समयमा विश्वकर्माले सांसदको नैसर्गिक अधिकारमा मन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘प्रश्न सोध्ने र मन्त्रीले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो । संसदीय प्रणालीमा भइरहने कुरा हो । हामीले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले जवाफ दिनैपर्छ ।’

प्रतिक्रिया