नयाँ दिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित


ढाका । बङ्गलादेशले बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ ।

बुधबार जारी गरिएको प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको जनाएको छ ।

विज्ञप्तिमा बङ्गलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिइएकोमा गहिरो खेद व्यक्त गरिएको छ ।

विदेश मन्त्रालयले बङ्गलादेशका जनताले जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा भारतीय भूमिमा शेख हसिनाको यो अन्तरक्रिया बङ्गलादेशको सार्वभौमसत्ताको अपमान र जुलाई क्रान्तिका शहीदहरूको घोर अपमान भएको पनि बताएको छ ।

हसिनाको शासनद्वारा सन् २०२४ को जुलाई–अगस्टमा नाबालिकाहरूसहित निर्दोष नागरिकहरूको विभत्स हत्यासहित संयुक्त राष्ट्रसङ्घद्वारा स्थापित तथ्यहरूको अस्वीकार, फरार दोषी सामूहिक हत्याराको आपराधिक समूहको ताजगीकरणले इतिहासलाई उल्टाउने प्रयासलाई कमजोर बनाउने बताइएको छ । बङ्गलादेशका जनताले विगतमा यस्ता घृणित प्रयासहरूलाई अस्वीकार गरिसकेको र अहिले पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।

जुलाई क्रान्तिको आदर्शलाई पुष्टि गर्दै मन्त्रालयले बङ्गलादेशका जनताले आफ्नो राष्ट्र फेरि कहिल्यै फासीवादको कालो दिनमा नफर्कने दृढ सङ्कल्प गरेको बताएको छ । मन्त्रालयले दोषी ठहर भएकी ‘सामूहिक हत्यारा’ हसिना र उनको सहयोगी समूहलाई बङ्गलादेशको राजनीतिमा कहिल्यै स्थान नहुने जनाएको छ ।

विज्ञप्तिमा बङ्गलादेश भारतसँग सार्वभौम समानता, आपसी सम्मान, एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राष्ट्रिय मर्यादाको आधारमा रचनात्मक, पारस्परिक रूपमा फाइदाजनक र अग्रगामी सम्बन्ध कायम राख्न चाहेको उल्लेख गरिएको छ ।

यद्यपि सन् २०१३ मा बङ्गलादेश र भारतबीच हस्ताक्षर भएको प्रत्यर्पण सन्धिअन्तर्गत दोषी अपराधी हसिनालाई बङ्गलादेश फिर्ता गर्न बङ्गलादेशले भारत सरकारलाई बारम्बार अनुरोध गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

सन्धिको विपरीत, हसिनालाई मिडियासँग खुलेर कुराकानी गर्ने अवसर दिनु बङ्गलादेश र भारतबीचको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको विकासका लागि हानिकारक भएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि अपदस्थ बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा आफ्नो मातृभूमि फर्कने निर्णयको घोषणा गर्दै आफू गिरफ्तारी, जेल वा आफ्नो जीवनलाई धम्की लगायत कुनै पनि परिणामको सामना गर्न तयार रहेको बताएकी थिइन् ।

बङ्गलादेशबाट प्रस्थान गरेपछि नयाँदिल्लीबाट पहिलो पत्रकार सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाले आफ्ना समर्थक र देशवासीहरूले कठिनाइको सामना गरिरहँदा विदेशमा बस्न नसक्ने कुरामा जोड दिएकी थिइन् । उनले भाग्यले आफूलाई पर्खिरहेको बताउँदै आफ्ना जनताबाट टाढा रहन नसक्ने र प्रिय देशवासीहरू माझ आगामी डिसेम्बरमा फर्किने उद्घोष गरेकी छन् ।