मर्दी पदयात्रामा हराएका तीन युवकको सकुशल उद्धार


गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने,’तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।’

बुधबार बिहान ८ः०० बजेदेखि उनीहरुको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेको थियो ।

जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरुको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।

उनीहरुलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।