काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भएपनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताएका हुन् ।
उनले भने, ‘पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले सरकारको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’
उनले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेका बताए । उनले देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको दाबी गरे ।
उनले भने, ‘विद्रोहको भावबाट भएको चुनावबाट आएको सरकार जसरी चल्नुपथ्र्यो, त्यो दिशामा गएन । एक प्रकारले अकल्पनीय ढंगले जनतामा फेरि आन्दोलनको स्थिति, संघर्षको स्थिति र विद्रोहको वातावरण बन्न थालेको हामी देख्छौं ।’

प्रतिक्रिया