काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले दलहरु फेरि सत्ताको खेलमा लागेका भन्दै असन्तुष्टि जनाएका छन् ।
सामाजिक सजालमार्फत रावलले झण्डै दुई तिहाईको एकलौटी र संयुक्त सरकार ढल्दा पनि दलहरुले नचेतेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारी भएको सन्दर्भमा रावलको यस्तो भनााई आएको हो । उनले भनेका छन्, ‘झण्डै दुई तिहाइको एकलौटी र संयुक्त सरकार ढलेको, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत देशका शासन– प्रशासनका केन्द्र, व्यावसायिक भवन, नेताका घर र देशका अमूल्य अभिलेखहरु खरानी भएको तथा निर्वाचनमा अकल्पनीय हार भएको तितो सत्यप्रति आँखा चिम्लेर विगतमा शासन सत्ताको बागडोर हातमा भएकाहरू फेरि भागबण्डा, गुट– उपगुट, सत्ता स्वार्थको खिचातानी, बिचौलिया, कमिसनको प्रभावमा योजनाको बाँडफाँट र पक्षपात जस्ता पुरानै प्रवृत्ति र व्यवहारतर्फ लाग्ने हो भने लाजले पनि लजाउनुपर्ने हुन्छ। विगतमा जे–जति क्षति र गल्ती भयो सबै मनन गरेर देश र जनताको भविष्य सुरक्षित गर्नेतर्फ सोच्नुपर्ने हो कि होइन ? यसतर्फ प्रदेश सरकारहरूको गठन र सञ्चालनको वर्तमान प्रसङ्गमा ध्यान दिनु देश, जनता र स्वयं सरकार गठनमा संलग्न दलको भलाईका लागि समेत उचित होला।’
प्रदेश सरकार गठनका लागि एमाले र नेकपाबीच सहमति भएपनि कतिपय प्रदेशमा एमालेका मुख्यमन्त्रीले नछाडने अडान लिएपछि एमालेभित्र यतिबेला राजनीतिक तनाव बढेको छ । खासगरी कोशी प्रदेश र बागमती प्रदेशमा सरकार गठनलाई लिएर एमालेभित्र विवाद छ ।
एमाले अध्यक्ष ओलीले कोशीमा हिक्मत कार्कीलाई हटाउन चाहेका छन् । तर कार्की राजीनामा नदिने अडानमा छन् । कार्कीलाई हटाएर ताप्लेजुङबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा संसदीय दलका उपनेतासमेत रहेका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अध्यक्ष ओलीको दाउ छ ।
त्यस्तै बागमतीमा पनि मुख्यमन्त्रीको विषयमा एमालेभित्र चर्को विवाद र रस्साकस्सी चलिरहेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्री बन्नबाट रोक्न अध्यक्ष ओली पक्षले भक्तपुरका किरण थापालाई अघि सार्दै आएका छन् ।

प्रतिक्रिया