नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि


काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गत आर्थिक वर्षमा यात्रु, कार्गो तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपाल एयरलाइन्सको उडान सङ्ख्या, यात्रु सङ्ख्या, कार्गो ढुवानी र राजस्व सबै क्षेत्रमा वृद्धि भएको हो।

उनले आव २०८२/८३ मा ११ प्रतिशतले वृद्धि गर्दै निगमले कूल तीन हजार ५९४ उडान सञ्चालन गरेको बताइन्। आव २०८१/८२ को तीन हजार १८९ उडान सञ्चालन गरेको थियो। उक्त अवधिमा नेपाल एयरलायन्सबाट यात्रा गर्ने यात्रुको सङ्ख्या छ लाख १३ हजार ७८४ पुगेको छ। अघिल्लो आवमा पाँच लाख ५० हजार २०७ थियो। यो १० प्रतिशतले बढी हो।

सबैभन्दा बढी कार्गो ढुवानीमा वृद्धि देखिएको छ। आव २०८२/८३ मा निगमले ४७ लाख ४७ हजार ५४५ किलो कार्गो ढुवानी गरेको छ भने अघिल्लो आवमा ३४ लाख २७ हजार ५७७ किलो ढुवानी गरेको थियो। यो २८ प्रतिशतले बढी हो।

निगमको राजस्व पनि वृद्धि भएको छ। अघिल्लो आवमा रु १५ अर्ब ३१ करोड ७९ लाख २२ हजार ४३७ राजस्व सङ्कलन गरेको निगमले गत आव २०८२/८३ मा निगमले रु १७ अर्ब ५२ करोड ५३ लाख ४३ हजार १२० आम्दानी गरेको छ।

यद्यपि, अकुपेन्सीमा भने गिरावट देखिएको छ । आव २०८१र८२ मा ८३ प्रतिशत अकुपेन्सी रहेकामा आव २०८२/८३ मा ८० प्रतिशतमा सीमित भएको थियो। गत असारमा पनि निगमको आम्दानी र नेपाल एयरलाइन्सको अकुपेन्सी दुवै बढेको जनाइएको छ। निगमका प्रवक्ता खड्काका अनुसार गत वर्षको असारको तुलनामा यस वर्षको असारमा आम्दानी ३२ प्रतिशतले बढेको छ भने अकुपेन्सी ७५ प्रतिशतबाट बढेर ८५ दशमलव चार प्रतिशत पुगेको छ।

निगममा सुशासन र संस्थागत सुधारको प्रयास

नयाँ नेतृत्व आएपछि नेपाल वायुसेवा निगममा सुशासन तथा संस्थागत सुधार अभियान सुरु गरिएको बताउँदै यसले सकारात्मक परिणाम दिन थालेको पनि निगमले जनाएको छ। निगमका अनुसार खुला प्रतिस्पर्धाबाट सञ्चालक समिति गठन र कार्यकारी अध्यक्ष शैलेशकुमार श्रेष्ठ नियुक्तिपछि व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता तथा सेवा व्यवस्थापनमा सुधारका काम अघि बढाइएको छ।

तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित संस्थागत सुधार, स्रोतसाधनको प्रभावकारी परिचालन, खर्च नियन्त्रण, सेवा विस्तार र सञ्चालन दक्षता अभिवृद्धिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको निगमले जनाएको छ। निगमले आगामी दिनमा नयाँ रुट विस्तार, वित्तीय अनुशासन सुदृढीकरण तथा नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वासनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।