काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा मङ्गलबार सार्वजनिक भएको छ। यस वर्षको नतिजामा पनि पीईए एसोसिएशनले सर्वोत्कृष्टसहित शीर्ष स्थानमा विद्यार्थी उभ्याउँदै आफ्नो तीन दशकभन्दा लामो शैक्षिक उत्कृष्टताको निरन्तरता कायम गरेको जनाएको छ।
आईओई प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिस्पर्धात्मक प्राविधिक प्रवेश परीक्षामध्ये एक मानिन्छ। यस वर्ष परीक्षामा १२ हजार ६२१ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७ हजार १७९ विद्यार्थी उत्तीर्ण भएका छन्। अवधारणागत ज्ञान, विश्लेषणात्मक क्षमता, समय व्यवस्थापन तथा प्रतिस्पर्धात्मक तयारीको उच्च स्तर आवश्यक पर्ने यस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु उल्लेखनीय उपलब्धि मानिन्छ। यस वर्षको नतिजाले पनि व्यवस्थित प्रवेश परीक्षा तयारी र गुणस्तरीय शैक्षिक मार्गदर्शनको महत्वलाई पुनः पुष्टि गरेको छ।
सार्वजनिक नतिजाअनुसार विराटनगरस्थित बाल विद्या मन्दिरका मनन श्रेष्ठ प्रथम भएका छन्। पोखराको मदरल्याण्ड स्कुलका अमृत तिमिल्सिना दोस्रो तथा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विपिन पन्त तेस्रो स्थानमा सफल भएका छन्। महिला समूहमा ललितपुरको पिनाकल एकेडेमीकी समिक्षा तामाङले सर्वोत्कृष्ट नतिजा हासिल गरेकी छन्। उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई पीईएले मंगलबार नै सम्मान गरेको छ। कार्यक्रममा विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणले उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरिएको थियो।
पीईएका कार्यकारी निर्देशक इन्जिनियर लक्ष्मण पोखरेलले यस वर्षको नतिजाले संस्थाको शैक्षिक गुणस्तरप्रतिको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताए। उनले पीईएले नतिजाभन्दा पनि गुणस्तरीय तयारीलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्ने संस्थागत संस्कारकै परिणामस्वरूप उत्कृष्टता निरन्तर कायम रहेको धारणा व्यक्त गरे। उनका अनुसार अथक परिश्रम, व्यवस्थित तयारी र उत्कृष्ट परिणाम नै पीईएको पहिचान बनेको छ।
संस्थाका प्रिन्सिपल सनत कुमार गिरीले अभिभावक, विद्यार्थी तथा शैक्षिक जनशक्तिले पीईएप्रति देखाएको विश्वास नै सफलताको मुख्य आधार भएको बताए। प्रवेश परीक्षाको प्रकृतिअनुसार तयार गरिएको अध्ययन सामग्री, नियमित अभ्यास, विश्लेषणात्मक कक्षा, अनुभवी शिक्षकको मार्गदर्शन तथा विद्यार्थीको निरन्तर मेहनतले उत्कृष्ट नतिजा सम्भव भएको उनको भनाइ थियो।
त्यस्तै, पीईएका पब्लिक रिलेसन डाइरेक्टर जनक लम्सालले पछिल्ला वर्षहरूमा सञ्चालन हुँदै आएको पीईए डिजिटल तथा पीईए इन्जिनियरिङ एण्ड आईटी क्विज कार्यक्रमले विद्यार्थीको अवधारणागत सिकाइ, प्रतिस्पर्धात्मक सोच र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए। डिजिटल माध्यमबाट देशका दुर्गम क्षेत्रका विद्यार्थीलाई समेत समान गुणस्तरको तयारीमा पहुँच पुर्याउन सफल भएको उनको दाबी छ।
उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूले पनि आफ्नो सफलताको श्रेय पीईएको अध्ययन वातावरण, प्रवेश परीक्षा केन्द्रित तयारी, नियमित अभ्यास, गुणस्तरीय अध्ययन सामग्री तथा शिक्षकहरूको व्यक्तिगत मार्गदर्शनलाई दिएका छन्। प्लस-टु तहमा अध्ययन गरेको विषयवस्तुलाई प्रवेश परीक्षाको ढाँचाअनुसार पुनः विश्लेषणात्मक रूपमा बुझ्न पाएको, समय व्यवस्थापन र प्रश्न समाधान गर्ने सीप विकास भएको अनुभव उनीहरूले सुनाए।
विद्यार्थीका अभिभावकहरूले पनि आफ्ना सन्तानको सफलताले गर्वको अनुभूति गराएको उल्लेख गर्दै पीईएले प्रदान गरेको शैक्षिक वातावरण, अनुशासन, नियमित अनुगमन र अभिभावकसँगको समन्वयले अपेक्षित नतिजा प्राप्त गर्न महत्वपूर्ण योगदान दिएको प्रतिक्रिया दिएका छन्।
वि.सं. २०५१ सालदेखि प्रवेश परीक्षा तयारी क्षेत्रमा सक्रिय पीईएले इन्जिनियरिङ, बीएस्सी सीएसआईटी तथा अन्य प्राविधिक विषयका प्रवेश परीक्षाको तयारी गराउँदै आएको छ। अनुभवी प्राध्यापक, प्रवेश परीक्षा केन्द्रित अध्यापन पद्धति, अद्यावधिक अध्ययन सामग्री, नियमित मूल्याङ्कन तथा प्रविधिमैत्री सिकाइ प्रणालीका कारण संस्थाले हजारौँ विद्यार्थीलाई नेपाल तथा विदेशका प्रतिष्ठित प्राविधिक शिक्षण संस्थामा अध्ययनका लागि मार्ग प्रशस्त गर्दै आएको जनाएको छ।
यस वर्षको आईओई प्रवेश परीक्षाको नतिजाले प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा योजनाबद्ध तयारी, गुणस्तरीय मार्गदर्शन, विद्यार्थीको निरन्तर मेहनत र अभिभावकको विश्वास एकसाथ जोडिँदा उत्कृष्ट परिणाम सम्भव हुने तथ्यलाई पुनः स्थापित गरेको छ। सर्वोत्कृष्टसहित शीर्ष स्थानमा विद्यार्थी उभ्याउन सफल भएको पीईएले आगामी दिनमा पनि गुणस्तरीय, प्रविधिमैत्री र परिणाममुखी प्रवेश परीक्षा तयारीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया