स्वास्थ्य सेवा प्रवाहलाई थप सहज बनाउन सरकार लागिपरेको छः मन्त्री मेहता


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन् ।

उनले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न र सुझावलाई विषयगत रूपमा समेटेर जवाफ प्रस्तुत गरिएको बताइन् ।

मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार हाल देशभर १ हजार २६९ डोज एन्टीस्नेक भेनम मौज्दात रहेको जानकारी दिइन् ।

उनका अनुसार केन्द्र स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरूमा २२२ डोज र सर्पदंश उपचार केन्द्रहरूमा ४६५ डोज एन्टी स्नेक भेनम उपलब्ध रहेको छ ।