विराटनगरका व्यवसायी मुदन्डाको घरमा छापा हानेको विषयमा मोरङका एसपीलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका एसपी कवित कटवालसँग स्पष्टीकरण सोधेको छ ।

विराटनगरका व्यवसायी प्रकाश मुदन्डाको घरमा छापा हानेको विषयमा कटवलासँग स्पष्टीकरण सोधिएको हो ।

प्रदेश प्रहरी कार्यालयले व्यवसायीको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यहरूको आधारमा उक्त कार्यको वैधानिकता, औचित्य निर्णय प्रक्रिया तथा कार्य सम्पादन सम्बन्धमा गम्भीर सुरक्षा, कानुनी एवं कार्यविधिगत प्रश्नहरू उठेको जनाएको छ ।

साथै प्रहरी संगठनको कार्य सम्पादन, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकताको सिद्धान्त, जवाफदेहिता तथा प्रचलित कानुन र प्रहरी नियमावलीअनुरूप भएको सुनिश्चित हुनु पर्नेमा उक्त घटनामा सो मापदण्डहरूको स्पष्ट पालना भएको नदेखिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले एसपी कटवाललाई २४ घण्टाभित्र आफ्नो स्पष्टीकरण बुझाउनसमेत निर्देशन दिएको छ । तोकिएको अवधिभित्र चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभए वा प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएमा प्रहरी ऐन, प्रहरी नियमावली तथा अन्य प्रचलित कानुनबमोजिम विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख गरिएको छ ।

सोमबार बिहान प्रहरीले ‘विशेष सूचनाको आधार’ मा भन्दै खानतलासी सुरु गरेको थियो । साढे पाँच घण्टासम्म प्रहरीले खानतलासी गरेपनि पछि केही फेला नपरेको भन्दै फर्किएको थियो । प्रहरीको कार्यशैलीप्रति सर्वत्र आलोचना भइरहेको छ । संसदमा समेत यो विषय उठेको छ ।